• १८ पुस २०८१, बिहिबार

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त शुक्रबार

blog

शुक्रबार हुने काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारी। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना  

बनेपा, भदौ १२ गते। काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत दुई हजार ३१४ विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबार हुने २९ औँ दीक्षान्त समारोहको दोस्रो चरणमा स्कुल अफ आर्ट्स, साइन्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज विधाका विद्यार्थी दीक्षित हुने जानकारी दिइएको हो। 

समारोहमा उक्त सङ्काय अन्तर्गत पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिनुभयो। 

उहाँले दीक्षित हुनेमध्ये स्कुल अफ आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५६३ जना र साइन्सका १४९ जना रहेको बताउनुभयो। उहाँले दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २४२ विद्यार्थी रहेका छन्। दीक्षित हुने कुल विद्यार्थीमा विदेशी विद्यार्थीको सङ्ख्या १० प्रतिशत रहेको प्रवक्ता पुनले बताउनुभयो। 

यस पटकको दीक्षान्त समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ म्यानेजमेन्ट  अन्तर्गत मास्टर्स अफ बिजनेस एण्ड इकोनोमिक्समा ११ जना र ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा २३ जना, स्कुल अफ मेडिकल साइसेन्जको डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिनमा पाँच जनालगायतका विभिन्न सङ्कायका विभिन्न विषयमा विद्यार्थीहरु दीक्षित हुने विश्वविद्यालयले जनाएको छ। 

२९ औँ दीक्षान्त समारोहको दोस्रो चरणसम्म आइपुग्दा विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४३७ विद्यार्थी उत्तीर्ण भएका छन् भने उत्तीर्ण विद्यार्थीमध्ये ५७ देशका १२ प्रतिशत अर्थात् पाँच हजार ४६७ जना विदेशी विद्यार्थी रहेका छन्। 

समारोहमा यस पटक चान्सलर स्वर्णपदकबाट मिजला चित्रकार, भाइस चान्सलर स्वर्णपदकबाट मुकेश तिवारी, भाइसचान्सलर स्वर्णपदक (एमबिबिएस) तर्फ स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदकबाट रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट अर्जुन दास र महेशनाथ पराजुली स्वर्णपदकबाट रनिषा पौडेललाई प्रदान गरिने विश्वविद्यालयले जनाएको छ। पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि समय सापेक्ष विभिन्न विषयको अध्यापन सुरु गरिएको बताउनुभयो। 

उहाँले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्ना कार्यक्रमहरूलाई अन्तर्राष्ट्रियकरण समेत सुरु गरेको बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयले अघि सारेका विभिन्न कार्यक्रममा विदेशी विद्यार्थीको सहभागिता हुने गरेको बताउनुभयो।