• १० मंसिर २०८१, सोमबार

सरकारी अस्पताल नभए क्यान्सर नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा क्यान्सर ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदै । तस्बिर स्वास्थ्य मन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १२ गते । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।

सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमुना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ ।

बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रञ्जन भट्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन ।

यस अघि ती अस्पतालमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैँले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो ।

तर, अब तीनवटा सङ्घका अस्पताल अनि पाँच प्रदेशमा रहेका विस्तारित अस्पतालका नमुना प्रयोगशालाले परीक्षण गर्ने भएको हो ।

यसैगरी, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्ने भएको छ । यस कार्यसँगै नागरिकले क्यान्सर परीक्षणमा व्यहोर्नुपरेको झन्झट र खर्चमा केही कमी आउने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए ।

क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुराउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमुना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएको जानकारी स्वास्थ्य मन्त्रीको सचिवालयले दिएको छ । 

सम्झौतापछि सामाजिक सञ्जालमा मन्त्री पौडेलले लेखेका छन्, ‘‘भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबिच सम्झौता गरेका छौँ । अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ ।’’

अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने मन्त्री पौडेलले उल्लेख गरेका छन् ।

यो सम्झौताले केही समय अघि सातै प्रदेशमा क्यान्सर उपचार सेवा पुर्‍याउने मन्त्री प्रदीप पौडेलको योजनालाई थप प्रभावकारी र सहज बनाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ