• १६ भदौ २०८१, आइतबार

वित्तीय संस्थामा आक्रमण गर्ने चारजना पक्राउ

blog

हरि कोइराला 

उर्लाबारी, भदौ ११ गते। मोरङको कानेपोखरी–२ थारुचौकमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लि. मा आगजनी प्रयास गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मङ्गलबार मध्यान्नतिर संस्थामा एक्लै काम गरिरहनु भएकी कर्मचारी पवित्रा थापालाई नियन्त्रणमा लिएर १०/११ जनाको समूहमा आएका मानिसहरूले संस्थामा आक्रमण गरेका थिए। 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका अनुसार आक्रमणकारी समूहले संस्थामा आगजनी प्रयास गरेका थिए। 

दाहालले कानेपोखरी २ कालिस्थानका ६५ वर्षीय रामबहादुर लिम्बू सोही स्थानकी ३५ वर्षीय चन्द्रकला मगरलाई कानेपोखरीबाट र उर्लाबारी–७ की ४० वर्षीया मीना लकान्द्री र सोही ठाउँकी ४३ वर्षीय राधा विश्वकर्मालाई उर्लाबारीबाट पक्राउ गरिएको जानकारी दिनुभयो। 

काभ्रेको पनौतीमा प्रधान कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले चार वर्षदेखि कानेपोखरीमा सेवा दिँदै आएको थियो।