• १० भदौ २०८१, सोमबार

पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

blog

राजकुमार भट्टराई 

खोटाङ, भदौ १० गते । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । 

च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । 

घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उहाँको भनाइ छ । 

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए । 

हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय रसकुमार राईले बताउनुभयो । 

मृतक संगम स्थानीय कलङ्का आविमा कक्षा २ मा अध्ययनरत थिए । बुवा गयन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।