• १० भदौ २०८१, सोमबार

रेडपाण्डा संरक्षणका लागि टोपी उत्पादन

blog

पाथेकामा उत्पादन गरिएको रेण्डपाण्डा अंकित टोपी ।

राजकुमार भट्टराई

खोटाङ, भदौ १० गते । लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् ।  संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकामा रेडपाण्डा अङ्कित टोपी उत्पादन थालिएको छ । स्थानीय मेरुङ सामुदायिक वन र कोप्चे सामुदायिक वनमा पाइने लोपोन्मुख रेडपाण्डाको संरक्षणका लागि सचेतना फैलाउने लक्ष्यसाथ टोपी उत्पादन सुरु गरिएको हो । 

रेडपाण्डाको लोगो भएको हस्तनिर्मित टोपी वडामा हुने कार्यक्रमका अतिथिलाई उपहार स्वरूप प्रदान गर्न थालिएको छ । रेडपाण्डालाई बढवा दिन तथा त्यसको प्रचार–प्रसार गर्दै संरक्षण गर्ने चेतना अभिवृद्धिका लागि सकेसम्म हरेक स्थानीय उत्पादनमा रेडपाण्डाको चित्र राख्ने योजना बनाइएको पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताउनुभयो । 

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज, खोटाङले केपिलासगढी गाउँपालिका –१ फेदीको फुङगालुङ र बगाले सामुदायिक वन तथा पाथेकाको मेरुङ र कोप्चे सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम गरिरहेको छ । 

कार्यक्रम अन्तर्गत पाथेका र फेदीका महिलालाई रेडपाण्डाको चित्र अङ्कित टोपी बनाउने तालिम दिइएको थियो । तालिममा सहभागी महिलाले व्यावसायिक रूपमा रेडपाण्डाको ब्राण्ड भएको टोपी बुन्न थालेका हुन् । 

रेडपाण्डालाई साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिएको छ । फेदी र पाथेकामा आर्थिक वर्ष २०७९–८० देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको छ । रेडपाण्डा ब्राण्ड भएको टोपी कार्यक्रमले नै खरिद गरिदिने तयारी गरेको जनकल्याण समाजका अध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो ।