• १० भदौ २०८१, सोमबार

ताप्लेजुङमा सात सयले पाए राष्ट्रिय परिचयपत्र

blog

प्रशासन कार्यालयमा राष्ट्रिय परिचयका लागि विवरण भराउँदै एक सर्वसाधारण । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङमा अहिलेसम्म सातसय जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । ताप्लेजुङमा चार वर्ष अघिदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता अर्थात् विवरण सङ्कलन गर्न सुरु गरिएको थियो । नाम दर्ता गरेको लामो समयसम्म राष्ट्रिय परिचयपत्र नआएकाले हालसम्म सातसय २६ जनाले मात्र परिचयपत्र प्राप्त गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाका अनुसार तीनसय ४७ जना महिला र तीनसय ७९ जना पुरुषले अहिलेसम्म परिचयपत्र प्राप्त गरेका छन् ।

हालसम्म जिल्लामा राष्ट्रिय परिचयपत्रको कार्ड भने सात हजार नौसय ६७ जनाको आइसकेको निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता अर्थात् विवरण उपलब्ध गराएका नागरिक धेरै जनाको कार्ड आउन बाँकी रहेको छ । जिल्लामा आइपुगेको राष्ट्रिय परिचयपत्र कार्डको सङ्ख्यामध्ये सात हजार दुईसय ४१ वटा कार्ड प्रशासन कार्यालयमै रहेको पनि उहाँले बताउनुभयो ।

लामो समय भएपछि नाम दर्ता गरेका कतिपयले बिर्सेका र राष्ट्रिय परिचयपत्र कार्ड बुझ्नका लागि स्वयम् व्यक्ति आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि कार्डहरू कार्यालयमै थन्किएको छ । कार्ड आइपुगेपछि नागरिकलाई आफ्नो कार्ड बुझ्नका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आह्वान गरिए पनि उनीहरू नआएका दर्ता शाखाले जनाएको छ । 

यता कतिपय नागरिकले विवरण भरेर करिब चार वर्षसम्म पर्खिँदासमेत राष्ट्रिय परिचयपत्र नपाएको गुनासो गरेका छन् । नाम वा विवरण दर्ता गरेको लामो समय भइसक्दा पनि राष्ट्रिय परिचयपत्र कार्ड नआएकाले अब आउला भन्ने विश्वाससमेत हराई सकेको स्थानीयले बताउनुभयो । 

आर्थिक वर्ष २०७७–७८ देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सुरु भएको र गत असारसम्ममा ६९ हजार पाँचसय ९८ जनाको विवरण सङ्कलन भइसकेको छ । आव २०७७–७८ मा तीन हजार सातसय चार, आव २०७८–७९ सात हजार तीनसय पाँच जनाको विवरण सङ्कलन गरिएको छ । 

यस्तै २०७९–८० मा छ हजार आठसय ९८ जना तथा आव २०८०–८१ मा पाँच हजार चारसय ८६ जनाको विवरण सङ्कलन भएको छ । गत आवसम्ममा सङ्कलन भएको विवरणमध्ये स्थानीय तहहरूमा सञ्चालन भएको अभियानमार्फत ४६ हजार दुईसय पाँच जनाको सङ्कलन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट २३ हजार तीनसय ९३ जनाको सङ्कलन भएको दर्ता कर्मचारी निरौलाले जानकारी दिनुभयो । त्यस्तै, चालु आव २०८१–८२ को साउन महिनामा भने नौसय ३७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।