• १६ भदौ २०८१, आइतबार

फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना

blog

पाँचथर,  भदौ १० गते ।  यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहाल गैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ । उक्त खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् । 

उक्त विपद् सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उद्घाटन गर्नुभयो । नगरप्रमुख काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपद्मा उद्धारका सामग्री सहज रूपमा समयमै उपलब्ध हुने बताउनुभयो । “यी सामग्री व्यवस्थापनले विपत्तिबाट हुने क्षति कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ”, नगरप्रमुख काफ्लेले भन्नुभयो, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा लिएको छु ।”

खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात् सोही स्थानमा ल्याई राख्ने प्रबन्ध गरिएको उहाँले बताउनुभयो । खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रूपमा लिने आशा गरिएको उहाँको भनाइ छ । नगरपालिकाले आगामी दिनमा यसरी अन्य स्थानमा पनि विपद् प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगरप्रमुख काफ्लेले जानकारी दिनुभयो । सो खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’लगायत सामग्री राखिएका छन् । सोही कार्यक्रममा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमुना अभ्यासको पनि प्रदर्शनी गरेको थियो । रासस