• ९ भदौ २०८१, आइतबार

हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैन : अध्यक्ष नेपाल

blog

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आइतबार काठमाडौँमा भएको पार्टीको केन्द्रीय कमिटी प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, भदौ ९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) अपारदर्शी ढङ्गले सो प्रस्ताव ल्याएको जिकिर गर्नुहुँदै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताविना सम्भव नरहेको दाबी गर्नुभएको हो ।

आइतबार काठमाडौँमा भएको पार्टीको केन्द्रीय कमिटी प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारमा सहभागी नभएका दलहरूको सङ्ख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पार्नुभयो ।

हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो । उहाँले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याउनु भयो । उहाँले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्नुहुँदै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समीक्षा गरौँ । पुराना संविधानको प्रावधानलाई पनि समीक्षा गरौँ । संसारको अरू देशको संविधानलाई पनि हेरौँ । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौँ । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ ? सुधार आवश्यक छैन होइन, जरुरी छ । तर सुधार गर्दाखेरी समग्र पक्षलाई नसोची गर्दाखेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसाबले अगाडि बढाउन खोजिएको छ । त्यो बडो सन्देशस्पद छ । फेरि दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ । त्यो नेपालमा सम्भव छैन ।’’

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताउनुभयो ।