• ९ भदौ २०८१, आइतबार

दाहसंस्कारमा प्लाष्टिकजन्य पदार्थ प्रतिबन्ध

blog

फाइल तस्विर

कोकिला ढकाल

इलाम, भदौ ९ गते । इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको दाहसंस्कारमा गाडीको टायर तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । 

प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरूमा दाउरासँगै टायर र प्लाष्टिकजन्य पदार्थको प्रयोग गर्ने गरिएको छ । तर टायर र प्लाष्टिकजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढङ्गबाट शव जलाउन सबैलाई आग्रह गरिएको इलाम –४ का वडाध्यक्ष नूतनदेव दुलाले बताउनुभयो ।

‘पछिल्लो समय टायर हालेर आगो लगाउने र शव जलिनसकि छाडेर हिँड्ने प्रचलन बढेकाले समुदायमा त्रास बढ्ने र त्यस कार्यले वातावरण प्रदूषणमा समेत असर गरेको पाइयो’ इलाम नगरपालिका प्रवक्तासमेत रहनुभएका दुलालले भन्नुभयो, ‘टायर र प्लाष्टिकको धुवाँले मानव शरीरमा क्यान्सर, दम, मुटुरोग लगायतका प्राणघातक रोग लाग्ने हुँदा सबैलाई सचेत गराइएको छ ।’ 

दुलालले पुरानै अर्थात्, कपुर, घिउ तोरी, तिल, चिनीको प्रयोग गर्न र शव सक्किएपछि चित्ता पखालेर मात्र छोड्न आग्रह गर्नुभएको छ । शवको दाहसंस्कार गर्न सहयोग आवश्यक परे जनप्रतिनिधि र टोल विकास संस्थाले समेत सहयोग गर्ने बताइएको छ । वडा कार्यालयले सार्वजनिक सूचना निकालेर समुदायलाई शव जलाउने विषयमा सचेत गराएको छ ।

पुवा खोलामा मात्र नभई इलामकै माई, जोगमाई र देउमाई, फाकफोक लगायतका ठुला खोलामा मानव शव जलाउने गरिएको छ । प्रायजसो शव जलाउँदा भने टायरको प्रयोग हुने गरेको समेत पाइन्छ । अन्य खोलामा पनि शव जलाउन प्रयोग हुने टायर र प्लाष्टिकजन्य पदार्थलाई कडाइ गर्न आवश्यक रहेको प्रवक्ता दुलाले बताउनुभयो ।