• ९ भदौ २०८१, आइतबार

खेल दर्शकबाट तेह्र लाख सङ्कलन

blog

शनिवार भएको अन्तिम सेमिफाइनल खेल हेर्न सहभागी भएका दर्शक । तस्बिर ः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ  सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।

आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार शुक्रवार र शनिवार दुई दिन सञ्चालन भएको सेमिफाइनल चरणको खेलमा मात्र छ लाख ५२ हजार ८०० रुपियाँ रकम सङ्कलन भएको छ । समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले सेमिफाइनल चरणअन्तर्गत शनिवारको खेलमा तीन लाख ४४ हजार रुपियाँ टिकट बिक्रीबाट सङ्कलन भएको बताउनुभयो ।

श्रेष्ठका अनुसार शुक्रवार खेल दर्शकलाई टिकट बिक्री गरेर तीन लाख आठ हजार ८०० रुपियाँ सङ्कलन भएको थियो । त्यस्तै प्रतियोगिताको क्वार्टर फाइनल चरणका चार वटा खेल सम्पन्न हुँदा सात लाख १० हजार ९०० रुपियाँ रकम सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । समितिका अनुसार सेमिफाइनलका लागि टिकट दर प्रतिव्यक्ति २०० रुपियाँ र क्वार्टर फाइनलमा टिकट दर १०० रुपियाँ थियो ।

यता भदौ १० गते सोमबार सम्पन्न हुने प्रतियोगिताको फाइनल खेल हेर्न वा अवलोकन गर्नका लागि टिकट दर २५० रुपियाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष देवराज गुरुङका अनुसार यस वर्ष प्रतियोगितामा टिकट बिक्री गरेर २० लाख रुपियाँ सङ्कलन गर्ने आयोजकले लक्ष्य राखेको छ ।

यता यस वर्ष प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । दर्शकको टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि राम्रै आर्थिक सहयोग सङ्कलन भइरहेको पनि समितिले जनाएको छ ।