• ९ भदौ २०८१, आइतबार

व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार

blog

काठमाडौँ, भदौ ९ गते  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैङ्कबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बिचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । 

राष्ट्र बैङ्कबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्तामाझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झन्डै सात हजार महँगो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक्ता हेर्ने हो, त्यसपछि व्यवसायीलाई हेनु पर्छ ।” सुनचाँदी व्यवसायीका मागबारे सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो । 

चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “चोरी पैठारी रोक्न सके सुनचाँदी व्यवसायीले व्यवसायमा मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।” नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झन्डै ६० प्रतिशत कालिगड विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।

कार्यविधि परिमार्जन गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८’ तत्काल परिमार्जन गरी समसामयिक र व्यावहारिक बनाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा शुक्रबार गएको महासङ्घको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो । 

महासङ्घले राष्ट्र बैङ्कलाई १४ बुँदै ज्ञापनपत्र बुझाउँदै ‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि २०६८’ अव्यावहारिक भएको र यसले सुनचाँदी व्यवसायीको समस्या सम्बोधन हुन नसकेको बताएका छन् । राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले महासङ्घको तर्फबाट राखिएमा मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।  व्यवसायीको मागको सम्बोधनका लागि आफूले शीघ्र पहल गर्ने बताउँदै उहाँले सरोकारवाला निकायबिच आवश्यक परामर्श गरी व्यवसायीका माग सम्बोधन गर्ने बताउनुभयो ।  महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित नहुँदा व्यवसायीले धेरै समस्या बेहोर्नुपरेको बताउनुभयो । पर्याप्त मात्रामा सुनको आपूर्ति व्यवस्था सुनिश्चित गर्न उहाँले आग्रह गर्नुभयो ।