• १६ भदौ २०८१, आइतबार

ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै सिराहा फाइनलमा

blog

ताप्लेजुङ गोल्डकपअन्तर्गत शनिबार भएको खेलमा प्रतिस्पर्धा गर्दै झापा र सिराहाका खेलाडी । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ८ गते । बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले बिर्तामोडलाई पराजित गर्दै सलहेश सिराहा फाइनलमा पुग्ने दोस्रो टोली बनेको हो । शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

निर्धारित समयावधिको खेलमा भने खेल सुरु भएको १८ औँ मिनेटमा सिराहाको तर्फबाट विदेशी खेलाडी ग्लोरी जोनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो । सिराहाको अग्रतालाई खेलको उत्तरार्धको ५६औँ मिनेटमा झापाका सौरभ सुब्बाले गोल गर्दै बराबरीमा पुर्‍याउनुभएको थियो । त्यसपछिको समय र थप भएको अतिरिक्त समयमासमेत दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन् ।

शनिबारको सेमिफाइनलमा जित निकालेको सिराहाले सोमबार हुने फाइनलमा सगरमाथा यूथ क्लब मोरङसँग उपाधि भिडन्त हुने छ । यता शनिबार भएको खेलमा सलहेश युवा क्लबका गोलरक्षक प्रदीप भण्डारी सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । 

यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।