• १६ भदौ २०८१, आइतबार

जेभालेमा आन्तरिक पर्यटकको आकर्षण (फोटो फिचर)

blog

राधा लुइटेल

फिदिम, भदौ ८ गते । चट्टानी पहाडको टाकुरो । टाकुरामा ठुलठुला ढुङ्गा । तिनै ढुङ्गा काटेर आकर्षक रूपमा कुदिएका किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले मान्ने देवता ।

आसपासमा ठुल–ठुला ओढार गुफा र प्राचीन देवस्थल । पाँचथरको फिदिम नगरपालिका-१३ जेभाले र हुक्माडाँडा क्षेत्रमा रहेका यी र यस्तै दृश्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्न थालेको छ ।

यस क्षेत्रको एकीकृत विकासका लागि स्थानीय नागरिक, स्थानीय सरकार र देश विदेशमा रहेका स्थानीयको सहकार्यले यो क्षेत्र छोटो समयमै पर्यटकीय गन्तव्य बनेको हो ।

सदरमुकाम फिदिमबाट आधा घण्टाको दुरीमा पुगिने जेभाले हुक्मा डाँडा क्षेत्रको प्राकृतिक स्वरूप नबिगारी ढुङ्गा कुदेर मुन्धुम पार्क र चट्टान बाटिका निर्माण गरिएको छ । 

मुन्धुम पार्कमा किरात राई जातीको आस्थाका देवता सुम्निमा र पारुहाङको प्रतिमा खोपिएको छ । चट्टान बाटिकामा भगवान् गौतम बुद्ध र नेपालको राष्ट्रिय झण्डा कुदिएको छ । नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र शिव–पार्वतीका आकृति बनाइएको छ ।

नजिकै रहेको महादेव गुप्तेश्वर धाम क्षेत्रमा ढुङ्गामै विभिन्न किसिमका प्राचीन र प्राकृतिक आकृति देख्न सकिन्छ ।  यत्तिका आकृति निर्माण भइसक्दा नसक्दै आन्तरिक पर्यटकको भीड लाग्न थालेको जेभालेको पर्यटन प्रवर्द्धनका अभियन्ता गजेन्द्र राईले जानकारी दिनुभयो । विशेषतः शनिबार र सोमबार महादेव थानमा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्छ।

खेल पर्यटनलाई वढावा दिन यहाँ निर्मित मैदानमा प्रत्येक शनिबार फुटबल प्रतियोगिता आयोजना हुने गरेको छ । मैदान क्षेत्रमा शौचालय, चेन्जिङ रुम लगायतका संरचना निर्माण गरिएको छ भने मुन्धुम पार्क र चट्टान बाटिका सँगै पिकनिक स्पोर्टसम्म पुग्न सिढी मार्ग निर्माण गरिएको छ ।