• ९ भदौ २०८१, आइतबार

तनहुँ बस दुर्घटना : शव भरतपुर विमानस्थल पठाइयो

blog

भरतपुर अस्पतालमा प्लाष्टिकमा बेरेर बाकसमा भारत लैजाने तयारी गरिँदै शव । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ भदौ ८ गते ।
 दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव भारत लैजान भरतपुर विमानस्थल लैजान थालिएको छ ।

भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भरतपुरमा पोस्टमार्टम गरिएको शवलाई प्लाष्टिकमा बेरेर बाकसमा राखी भरतपुर विमानस्थल पठाइएको जानकारी दिनुभयो ।

“अहिले शव लिन भारतबाट विमान आउँदै छ । पोष्टमार्टम गरिएका शवहरूलाई अहिले भरतपुर विमानस्थल पठाइँदै छ”, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलले भन्नुभयो ।

अहिले पोष्टमार्टमको काम सकिएको र शव बाकसमा राखेर भारत पठाउन लागिएको पनि उहाँले जनाउनुभयो । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो ।  मृत्यु भएका शवको भरतपुर अस्पतालमा शनिबार बिहानैदेखि फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरूको टोलीले पोष्टमार्टम गरेको थियो पोष्टमार्टम सकिएसँगै शवलाई भारत लग्न लागिएको हो ।

शवलाई भरतपुरबाट हवाइमार्फत सोझै भारतको महाराष्ट्र लगिने छ ।

शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विमान शनिबार दिउँसो ३ः३० भरतपुर विमानस्थल आइपुग्ने छ ।

यसैगरी,  दुर्घटनामा परी मृत्यु भएका आफ्ना नागरिकको शव बुझ्न भारतका युवा तथा खेलकुद राज्य मन्त्री रक्षानिखिल खाडसे भरतपुर आइपुग्नु भएको छ । उहाँले सबै शव बुझेर भारतको महाराष्ट्र लैजादै हुनहुन्छ ।

शुक्रबार आबुखैरेनीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबै भारत महाराष्ट्रका भएकाले उनीहरूको शव भारत नै पठाउन लागिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा सो दुर्घटना भएको हो । मृतकहरूको शवलाई शुक्रबार राति नै भरतपुर अस्पताल ल्याइएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।