• ५ माघ २०८१, शनिबार

शिक्षकका लागि तीन दिने तालिम सञ्चालन

blog

तीन दिने तालिमको उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर सौजन्य : यमनाथ पौडेल

गजेन्द्र गुरुङ
खजुरा, भदौ ८ गते ।
 बाँके जिल्लास्थित सामुदायिक विद्यालयमा कार्यरत कक्षा ९ र १० मा विज्ञान विषय पढाउने शिक्षकहरूलाई तीन दिने तालिम सञ्चालन भएको छ ।

जिल्लाका सामुदायिक विद्यालयका कक्षा ९ र १० मा विज्ञान विषय पढाउने शिक्षकहरूका लागि शनिबारदेखि तालिम सुरु गरिएको हो र आज सुरु भएको तालिम सोमबारसम्म सञ्चालन हुनेछ ।

तीन दिने तालिमको लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्जका डिन डा.किर्तीकुसुम जोशीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै डिन जोशीले प्रविधिको युगमा विद्यार्थीहरू पनि धेरै अगाडि बढिसकेको बताउँदै शिक्षकहरूले पनि यसका बारेमा झन् धेरै सिक्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेका कुराहरू कक्षा कोठामा पुर्‍याएर विद्यार्थीहरूलाई असल ज्ञान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले आवश्यक परेमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले विज्ञान शिक्षकहरूसँग सहकार्य गर्ने पनि बताउनुभयो ।

कक्षा ९ र १० को विज्ञान तथा प्रविधि विषयको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) एकाइ नयाँ भएका कारण विज्ञान विषय पढाउने शिक्षकहरूलाई अध्यापन गराउन सहज होस् भन्ने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको विज्ञान शिक्षक समाज नेपाल (स्टान) लुम्बिनी प्रदेशका अध्यक्ष यमनाथ पौडेलले बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार नयाँ कोर्स भएका कारण विज्ञान पढाउने शिक्षकहरूलाई अध्यापन गराउँदा कठिनता उत्पन्न भएको र उहाँहरूको क्षमता विकासमा वृद्धि गर्नका लागि बाँके जिल्लाका माध्यमिक तहमा सामुदायिक विद्यालयमा कार्यरत विज्ञान विषय अध्यापन गराउने विज्ञान शिक्षकहरूलाई तालिम प्रदान गरिन लागिएको हो ।

सरकारले सामुदायिक विद्यालयको कक्षा ४ देखि १० सम्मको पाठ्यक्रममा विज्ञान विषयमा सूचना तथा सञ्चार प्रविधि नयाँ च्याप्टर थपेको हुँदा ९ र १० कक्षा पढाउने विज्ञान शिक्षकहरूलाई यो तालिम प्रदान गरिन लागिएको उहाँले बताउनुभयो । कक्षा ४ देखि ८ सम्मको कोर्स शिक्षकले बुझ्ने तथा विद्यार्थीलाई पनि बुझाउन सकिने किसिमको भएको र ९ र १० कक्षाको कोर्स भने अल्लि कठिन देखिएका कारण शिक्षकहरूलाई यो तालिमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

तीन दिनको विज्ञान तथा प्रविधि विषयको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) एकाइ तथा विज्ञान तथा प्रविधि विषयलाई आइसिटीमा जोडेर अध्यापन गराउने यो तालिम पश्चात् विज्ञान शिक्षकहरूको क्षमतामा विकास हुने र विद्यार्थीहरूलाई अध्यापन गराउन मद्दत पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको आयोजना, विज्ञान शिक्षक समाज बाँकेको व्यवस्थापन र लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्जको प्राविधिक सहयोगमा विश्वविद्यालयकै आइसिटी ल्याबमा प्रयोगात्मक तरीकाबाट शिक्षकहरूलाई तालिम सुरु गरिएको छ ।