• ११ मंसिर २०८१, मङ्गलबार

वातावरण संरक्षणको नमुना ‘ढाप पोखरी’

blog

कोकिला ढकाल

इलाम, भदौ ८ गते । इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणका लागि अनुकरणीय उदाहरण बनेको छ । स्थानीयले आफूहरूको खेती गर्दै आएको जग्गा दिएर मानव निर्मित पोखरी निर्माण गरेर पानीको स्रोत र सिमसार संरक्षणमा अनुकरणीय उदाहरण प्रस्तुत गरेका हुन् । 

२०७२ सालमा संरक्षण सुरु गरिएको पोखरी भएको स्थान विगतमा सिमसार खेत थियो । करिब ५५ रोपनी क्षेत्रफलमा जलाशय रहेको पोखरी बनाउन स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यहाँ रहेको एउटा गुठी चन्द्रपाल थेबे प्रतिष्ठान र स्थानीय २५ जनाले एक रोपनीदेखि छ रोपनी जग्गा पोखरीका लागि उपलब्ध गराएको चन्द्रपाल थेबे सिमसार पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराई बताउनुहुन्छ । 

स्थानीयकै पहलमा हेरौँ हेरौँ लाग्ने पोखरीको निर्माण भए पनि यसको थप व्यवस्थापनका लागि भने अझै काम गर्न बाँकी रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । पछिल्लो समय इलाम भित्रिने पर्यटक पनि ढाप पोखरी हेर्नकै लागि जमुनासम्म पुग्ने गरेका छन् । मानव निर्मित पोखरीलाई धेरैले अध्ययन अवलोकनको विषयसमेत बनाउने गरेका छन् । समितिका अध्यक्ष भट्टराईले भन्नुभयो, “यहाँ पानी संरक्षणले स्थानीय पानीका मुहानलाई फाइदा पुगेको छ । सुक्खा याममा पनि पोखरी आसपासका मुहान सुक्दैनन् । ग्रामीण जीवन, यहाँको कृषि उत्पादन र सिँचाइका लागि पोखरी संरक्षणले निकै सहयोग गरेको छ ।” 

पर्यटकीय स्थल सन्दकपुर, जौबारी, चोयाटार सामुदायिक वन आउने पर्यटक यहाँ आउँछन् । चोयाटार सामुदायिक वन दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डाको वासस्थान हो । रेडपान्डा हेर्न आउने ढाप  पोखरीसम्म पुग्ने र मानव प्रयासमा भइरहेको संरक्षणको अवलोकन गरेर मात्र फर्कने गरेको स्थानीय जनप्रतिनिधि कुमार गुरुङ बताउनुहुन्छ । गुरुङका अनुसार यो क्षेत्रमा धमाधम होमस्टेहरू पनि निर्माण भइरहेका छन् । अहिले एक रातमा करिब ५० जनालाई राख्न सकिने गुरुङको भनाइ छ । 

इलामबाट करिब ३० किलोमिटर उत्तर पूर्वमा रहेको यो पोखरीलाई स्थानीयले दिएको जग्गा भने अहिलेसम्म पनि स्थानीयकै नाममा छ । निःशुल्क जग्गा दिए पनि वडा कार्यालय अथवा पालिकाले आफ्नो नाममा ल्याउन खासै चासो देखाएको छैन तर स्थानीयले जग्गा नामसारी गरिदिन हतार नै गरिरहेको यहाँका वडाध्यक्ष यज्ञ गुरुङ बताउनुहुन्छ । गुरुङ भन्नुहुन्छ, “नामसारी गर्न पनि केही रकम त लाग्छ, हामीसँग रकम अभावले नै यतिका वर्ष बितिसक्यो तर २०८१ सालभित्र हामी यहाँको जग्गा वडाको नाममा ल्याउने छौँ ।” स्थानीयवासी र संरक्षण समितिले धेरै राम्रो काम गरेका छन् । प्रशंसायोग्य क्षेत्र भएको छ । यसका लागि वडाले यो वर्ष केही बजेट विनियोजन पनि गरेको छ ।” 

अध्यक्ष गुरुङका अनुसार पोखरीको सौन्दर्यीकरण गर्ने गरी डिपिआर तयार भएको छ । पोखरीको वरिपरि बाटो बनाउने, करिब एक किलोमिटर माथिबाट पानी ल्याएर पानीको फोहोरा पोखरीमा खसाल्ने, डुङ्गा सञ्चालनलगायतका काम गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो । बर्सेनि हुने तापक्रम वृद्धि र बढ्दो गर्मीमा यो पोखरी र यो सिमसार क्षेत्रले महìव बुझाउने गुरुङको भनाइ छ । गुरुङले भन्नुभयो, “तराईबाट गर्मी छल्न धेरै मानिस पहाड आउने गर्छन् । यो क्षेत्रमा पनि ती मानिसलाई ल्याउन सकेमा यहाँको पर्यटन विकास, स्थानीयको आयआर्जनमा मद्दत पुग्छ ।”