• ११ मंसिर २०८१, मङ्गलबार

स्वमूल्याङ्कनमा इलाम पहिलो र सूर्याेदय दोस्रो

blog

सूर्याेदय नगरपालिकाको कार्यालय ।

कोकिला ढकाल

इलाम, भदौ ७ गते । सङ्घीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०७९-०८० मा गरेको कोशी मूल्याङ्कनमा प्रदेशभरमा सूर्याेदय नगरपालिका दोस्रो भएको हो । 

उक्त मूल्याङ्कनमा देशभरमा भने इलाम नगरपालिका पाँचौं र देशभरमा छैटौं भएको छ । मूल्याङ्कनमा इलाम नगरपालिकाले कोशी प्रदेशमा ८९ दशमलव ५० अङ्क प्राप्त गरेको छ भने सूर्याेदय नगरपालिकाले ८८ दशमलव २५ अङ्क प्राप्त गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कनमा बागमती प्रदेशको नीलकण्ठ नगरपालिकाले ९२ दशमलव ५० अङ्क प्राप्त गरेर पहिलो, लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकाले ९२.०० अङ्क प्राप्त गरेर दोस्रो, बागमती प्रदेशको रत्ननगर नगरपालिकाले ९१ दशमलव ५० अङ्क प्राप्त गरेर तेस्रो, बागमती प्रदेशकै खैरहनी नगरपालिकाले ८९ दशमलव ७५ अङ्क प्राप्त गरेर चौथो भएका छन् ।

मन्त्रालयले हरेक वर्ष गाउँपालिका तथा नगरपालिकाहरुले सञ्चालन गरेका कार्यक्रम, बजेटको अवस्था, पालिका स्थित विषयगत समितिहरुको कामकार्वाही र अवस्था, सम्बन्धित पालिकाहरुमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अवस्था तथा लक्षित समुदायका सञ्चालित कार्यक्रमहरुको मूल्याङ्कन गर्ने गरेको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले बताउनुभयो । दुलालका अनुसार गएको पुस–माघ महिनामा मन्त्रालयले स्वमूल्याङ्कनका लागि इलामका पालिकाहरुको निरीक्षण गरेको थियो ।