• १२ पुस २०८१, शुक्रबार

मङ्किपक्सको जोखिम

blog

अफ्रिकी देश कङ्गोमा एमपक्स सङ्क्रमणका कारण ५७० बढीले ज्यान गुमाएका छन् । बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या, युगान्डा, रुवान्डा हुँदै स्विडेन र पछिल्लो समय पाकिस्तानमा समेत एमपक्स पुष्टि भइसकेको छ । सङ्क्रमण तीव्र रूपमा फैलिएपछि अफ्रिकी सीडिसीले अगस्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगस्ट १४ मा विश्व स्वास्थ्य आपत्काल पिएचइआइसी घोषणा गरेको छ । नेपालमा पहिलो पटक र एक मात्र २०८० असार १ गते ६० वर्षीय विदेशी महिलामा मङ्किपक्स पुष्टि भएको थियो । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्किपक्स नामकरण हाल एमपक्सको नामले सम्बोधन गरिन्छ ।

 हाम्रा लागि एमपक्स नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ । सन् १९५८ मा पहिलो पटक पश्चिम अफ्रिकाको एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मानिसमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा नौ महिने बालकमा पुष्टि भएको थियो । त्यति बेला १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो । सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रूपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा देखा परिसकेको छ ।

 मङ्किपक्स भाइरसका क्लेड १ र २ गरी दुई प्रजाति छन्, जसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिँदा एमपक्सलाई विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड –१ हो जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड –१ बी ले सङ्क्रमितमध्ये १० प्रतिशत बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

सर्ने माध्यम

मानिसबाट मानिसमा तथा जनावरबाट मानिसमा लामो समय आमनेसामने कुराकानी गर्दा जस्तै मुखको छिटाबाट, यौन तथा गुद्धार सम्पर्कबाट, सङ्क्रमितले प्रयोग गरेका सरसामान जस्तै कपडा, सिरिन्ज र सङ्क्रमितको घाउ, फोकाको तरल पदार्थबाट सर्छ । भाइरस श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत सर्न सक्छ । यस्तै बाँदर, मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलन सक्छ । सङ्क्रमितसँगको यौनसम्पर्कबाट पनि सर्न सक्छ तथापि वीर्यबाट सर्ने प्रमाणित भइसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्न सक्छ । सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले कोभिडभन्दा सजिलै एकबाट अर्कोमा सर्न सक्छ ।

लक्षण

पहिलो चरण अर्थात् प्रारम्भिक अवस्थामा अन्य सङ्क्रामक रोग तथा मौसमी फ्लुको लक्षण जस्तै ज्वरो, आलस्य, टाउको, मांसपेसी, जिउको दुखाइ, लिम्फग्रन्थी सुन्निने हुन्छ । दोस्रो चरण ज्वरो देखिएको एक देखि तीन दिनमा पहिले राता तब घमौरा जस्ता उठेका र त्यसपछि ठेउला र बिफरमा जस्तै शरीरमा पिप भएको बिबिरा देखिन थाल्छ । खटिरा आउँछ र त्यो शरीरभरि फैलिएर केही दिनमा सुक्छ । हाल अनुहार, हातखुट्टाका अतिरिक्त गुप्ताङ्ग र गुद्धारमा बिबिरा, घाउ बढी देखिएको अफ्रिकी चिकित्सक भन्दै छन् । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरिगीसँग मिल्दोजुल्दो छ । 

मङ्किपक्समा सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने र ज्वरो आएको तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्न थाल्छ । केही दिनमा डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेसी दुख्ने र शरीरका ग्रन्थी बढ्छन् । एक समयमा एक ठाउँमा एकै खाले मात्र प्रायः दुख्ने, अलि गहिरो, बिचमा खाल्टो परेको डाबर हुन्छ । बिफर र मङ्किपक्समा भने उस्तै भए पनि केवल घाँटी र काखीको गिर्खाले मात्र छुटयाउन सकिन्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यत आफैँ हराउँछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म हुन्छ ।  सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम पक्सको लक्षण देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरी सक्छन् । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यत आफैँ हराउँछ । तथापि बिफर सङ्क्रमितमा ३० प्रतिशत मृत्यु र निको भएकामा पनि ६५ देखि ८० प्रतिशतमा छालामा बिबिराको खत भने स्थायी रहन्छ । 

न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानमा सङ्क्रमितमध्ये सबैभन्दा बढीमा शरीरको विशेषत गुप्ताङ्ग, गुद्धारमा घाउ, पानी फोका देखिएको छ । ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने, जिउ दुख्ने थप लक्षण हुन् । 

निदान

धेरै जसो लक्षणबाट, त्योबाहेक छालाको जाँच र फोकाको पिसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मङ्किपक्स भाइरल पिसीआरबाट रोगको निदान गरिन्छ । नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थाेपक्स भाइरसबिचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन ।

उपचार

धेरै जसो मानिसमा यसले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ । तथापि बच्चा, वृद्धवृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्युदर ११ प्रतिशतसम्म भए पनि सन् २०२२ मा देखिएको वेस्ट अफ्रिकन स्ट्रेनमा धेरै कम थियो । सिकिस्त बिरामीका लागी एन्टिभाइरल औषधी टेकोभिरिम्याट पनि उपलब्ध छ ।

रोकथाम

एम पक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्ने जोखिममा पञ्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछ्यान, भाडा तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नु पर्छ । मङ्किपकसको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटरजेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नु पर्छ । 

सन् १९८० मा उन्मूलन भएको बिफरका लागि प्रयोग हुने खोप मङ्किपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्रसम्ममा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । उपचार पत्ता लागिसकेको छैन, बिफरको एन्टिभाइरल औषधी प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ । बिफर उन्मूलन भइसकेकाले त्यसको खोप विश्वमा पाउन गाह्रो छ ।

सरकारको तयारी 

यो एमपक्सको क्लेड –१ हो, नयाँ कोभिड होइन किनभने यसलाई नियन्त्रण गर्ने तरिका हामीलाई थाहा छ । सङ्क्रामक रोग एक उडानको समयमा देशमा पुग्न सक्ने ज्वलन्त उदाहरण कोभिडले देखाइसकेको छ । हवाई तथा स्थल नाकामा रहेका हेल्थ डेस्कको सक्रियता, सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्न, क्वारेन्टिनमा राख्ने, स्वास्थ्यका मापदण्ड, सम्पर्क अस्पताल र चिकित्सक तोकेर सरकारले प्रतिकार्य, निगरानी तथा स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्टयाक्ट ट्रेसिङ गर्ने गरी प्रोटोकल बनेको छ । विज्ञहरूसँग छलफल, अस्पतालमा निदान किट र उपचारका सामग्री भण्डारण गरेको छ । तथापि आमनागरिकले सरकारका मापदण्ड र जनस्वास्थ्यका मापदण्ड पालना बिना नियन्त्रण असम्भव भएकाले सबैको सक्रिय योगदानको जरुरी छ । 

   

Author

डा. प्रकाश बुढाथोकी