• १२ पुस २०८१, शुक्रबार

मध्यपूर्वमा क्षेत्रीय तनाव

blog

इजरायल र इरानबिच तनाव बढेसँगै अमेरिकाले भूभध्य सागरमा युद्धपोत तैनाथ गरेको छ । इरानबाट इजरायलमा हुन सक्ने सम्भावित आक्रमणलाई दृष्टिगत गरी अमेरिकाले युद्धपोत तैनाथ गरेको हो । 

पछिल्ला राजनीतिक हत्याका घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई समाप्त नपारेसम्म गाजामा सैन्य कारबाही नरोक्ने अडानका साथ इजरायलले कारबाही अगाडि बढाउने क्रममा पछिल्लो पटक प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका प्रमुख नेता इस्माइल हानिया, सैन्य प्रमुख मोहम्मद डेफ, कमान्डर राफा सलेमेह, लेबनानका हेजबुल्लाह समूहका सैन्य कमान्डरहरू सामी अब्दुल्लाह तालेब र फुआद सुकरको हत्या गरिएसँगै क्षेत्रीय तनाव बढेको हो । इजरायली नेतृत्व यो कारबाहीको सफलताबाट उत्साहित बनेको छ भने हमास, हेजबुल्लाह र इरानी नेतृत्वले तीव्र आक्रोश व्यक्त गर्दै बदला लिने घोषणा गरेका छन् । 

हमासका प्रमुख नेता हानिया इरानका नवनिर्वाचित राष्ट्रपति महसुद पेजेस्कियानको शपथग्रहण समारोहमा तेहरान गएको बेला निर्देशित क्षेप्यास्त्र प्रहार गरी हत्या गरिएको हो । शपथग्रहण कार्यक्रमको भोलिपल्ट भएको यो घटनाप्रति इरानले तीव्र आक्रोश व्यक्त गर्दै इजरायलले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । 

इरानको राजधानी तेहरानमा हानियाको जुन प्रकारले हत्या भयो यसले इरानी नेताहरूको सुरक्षामाथि पनि प्रश्न उठेको छ । इजरायलले चाहेमा हानियाको जस्तै गरी इरानी नेताहरूको हत्या गर्न सक्छ भन्ने इजरायलको सैन्य शक्तिले सङ्केत गरेको छ । यस घटनाबाट तर्सेको इरानी नेतृत्वले कसरी इजरायलसँग बदला लिने हो वा होइन, उसले कस्तो रणनीति बनाउने हो, हेर्न बाँकी छ ।

गएको अप्रिल १ मा इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रमण गरी इरानी सेनाका वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदीसहित १३ जनाको हत्या ग¥यो । यो हत्याको घटनासँगै आक्रोशित इरानले इजरायलविरुद्ध अप्रिल १३ र १४ मा प्रत्यक्ष तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरी जवाफ दियो ।  प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनलाई अमेरिका, बेलायत, फ्रान्स र जोर्डनको सहयोगमा इजरायली प्रतिरक्षा प्रणालीबाट ९९ प्रतिशत निस्तेज पारिएको थियो । सो घटनामा एक सात वर्षीय बालक घाइते हुनुका साथै इजरायलको सैनिक संरचनामा केही क्षतिबाहेक ठुलो घटना भएन । 

इरान र इजरायलको सीमा जोडिएको छैन । २१ सय किलोमिटर टाढाबाट इरानले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई सहजै निस्तेज पारी इजरायल सरकारले आफ्ना नागरिक जोगाउन सफल भयो । यो घटनाले प्रतिरक्षा प्रणालीमा इजरायली सेना अब्बल छ भन्ने प्रमाणित गरेको छ । 

दमास्कसको यो घटनासँगै सिरिया पनि इजरायलसँग रुष्ट बनेको छ । आफ्नो भूमिमा भएको यो आक्रमणको जवाफ उचित समयमा दिने चेतावनी दिएको छ । यमनको हुथी विद्रोहीसँग पनि लालसागरमा क्षेप्यास्त्र हानाहानका घटना रोकिएको छैन । यतिखेर इजरायल एकै पटक इरान, सिरिया, यमन र लेबनानसँग अघोषित युद्ध र प्यालेस्टाइनसँग घोषित युद्ध गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले प्यालेस्टिनी हमास समाप्त नपारेसम्म र अन्य प्रतिद्वन्द्वीलाई साइजमा नल्याएसम्म युद्ध नरोक्ने अडान लिनुभएको छ । उहाँमाथि युद्ध रोक्न चर्को अन्तर्राष्ट्रिय र क्षेत्रीय दबाब भने परेको छ । 

गत वर्षको अक्टोबर ७ मा इजरायलमा इतिहासमै नभएको आक्रमण भयो । इजरायलको बलियो रक्षा संयन्त्रलाई चुनौती दिई प्यालेस्टिनी हमास लडाकु पाँच हजारभन्दा बढी रकेट प्रहार गर्दै इजरायलभित्र प्रवेश गरे । उनीहरूले १० जना नेपालीसहित अन्य विदेशी र इजरायली गरी १२ सय जनाको अन्धाधुन्ध हत्या गर्नुका साथै २५० जनालाई बन्धक बनाए । यो घटनाबाट आक्रोशित इजरायले हमासविरुद्ध युद्धको घोषणा गरी गाजा क्षेत्रमा भीषण प्रत्याक्रमण सुरु गरेसँगै युद्ध जारी छ । 

यो युद्धमा हालसम्म ४० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । एक लाखभन्दा बढी घाइते भएका छन् । पछिल्लो चरणमा हमासतर्फ ठुलो क्षति भएको छ तर पनि अहिलेसम्म हमास नेतृत्व आत्मसमर्पण वा युद्धविराम गर्ने पक्षमा देखिएको छैन । प्रमुख नेता हानिया मारिएसँगै हमास नेतृत्वलाई युद्धबाट पछि हट्न दबाब पनि परेको छ । युद्धबाट कसरी पछि हट्ने, युद्धविराम गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विषयमा हमास नेतृत्वबिच नै मतभेद छ । 

झुक्याएर आक्रमण गरे पनि शक्तिशाली इजरायललाई हराउन वा गलाउन सक्ने ताकत न हमाससँग छ न त हेजबुल्लाह वा हुथी व्रिद्रोहीसँग छ । इरानलगायतको सहयोगमा यी विद्रोही समूहलाई प्रयोग गरी इजरायलविरुद्ध आक्रमण गर्न आर्थिक सहयोग तथा हतियार उपलब्ध गराइएको छ । यसले गर्दा मध्यपूर्व क्षेत्र तनावमुक्त हुन सकेन । तनावका बिच पनि इजरायलले आफ्ना नागरिको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । नागरिक र देशको सुरक्षाका लागि इजरायली नेतृत्वले अत्याधुनिक हतियारसहितको सैन्यशक्ति निर्माणमा ठुलो धनराशि खर्च गरेको छ । मध्यपूर्वको ‘सानो अमेरिका’ भनेर चिनिने इजरायललाई कमजोर बनाउन यसका छिमेकी तथा क्षेत्रीय शक्तिले अथक प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

मूल प्रश्न यतिखेर हारजितको भन्दा पनि क्षेत्रीय सुरक्षा र शान्तिको हो । अहिलेकै पाराले युद्ध लम्बिँदै जाने र युद्धविराम तथा शान्ति सम्झौताका लागि संवाद नहुने हो भने परिस्थिति अरू जटिल बन्ने छ । संयुक्त राष्ट्रसङ्घलगायत विश्व समुदायले इजरायल र हमासलाई युद्धविराम गरी वार्ताद्वारा समस्याको दीर्घकालीन समाधान खोज्न दबाब दिँदा पनि युद्ध नरोकिनु दुःखद हो । 

सन् १९४८ मा इजरायल अस्तित्वमा आएदेखि नै मध्यपूर्वमा युद्ध, हत्या र हिंसाले प्रश्रय पायो । प्यालेस्टाइन तथा अरब भूमि समेटेर बनेको इजरायलले युद्ध, हत्या र हिंसाका बिच पनि आफूलाई निकै शक्तिशाली राष्ट्र बनाउन सफल भयो । युद्ध गरेर इजरायललाई हराउन सक्ने क्षमता त्यस क्षेत्रका अरू देशमा छैन । इजरायलबाट पीडित अधिनस्थ प्यालेस्टिनीले अस्तित्वका लागि युद्ध गर्दै आएका छन् । इजरायल र प्यालेस्टाइनबिचको अन्त्यहीन विवाद मिलाउन थुप्रै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास भएका छन् । समस्याको दिगो समाधान निस्कन नसक्दा युद्ध रोकिएको छैन । युद्ध, हत्या, हिंसा र आतङ्कले जनजीवन कष्टकर र अत्यासलाग्दो बनेको छ । हिंसाले प्रतिहिंसा जन्माएको छ । बदलाको भावना उग्र हुँदा सहज वार्ता हुन सकेको छैन । 

गएको अक्टोबर ७ को आक्रमण र त्यसयताको जारी युद्धले ठुलो जनधनको क्षति भएको छ भने गाजा क्षेत्र ध्वस्त भएको छ । इजरायली नेतृत्वले चाहे जस्तै हमासमा प्रमुख नेता तथा सैन्य कमान्डरहरू पनि मारिइसकेको यो अवस्थामा युद्ध रोकी सार्थक वार्ता गरी समस्याको दीर्घकालीन समाधान खोज्न पहल गर्नु पर्छ । हमास नेतृत्वले अब बदला होइन, आफ्नो हार स्वीकार गरी युद्धविराम गर्नु बुद्धिमानी हुने छ । यो कार्य अन्तर्राष्ट्रिय मध्यस्थतामा दुवै पक्षलाई चित्तबुझ्दो भएमा मात्र समस्याले निकास पाउन सक्छ । 

अहिलेसम्मको मूल समस्या नै इजरायलको अतिवादी समूह र प्यालेस्टाइनको त्यस्तै अतिवादी समूह हो, जसले एकअर्काको अस्तित्व स्वीकार नगर्नु हो । यसले गर्दा बारम्बार इजरायल र प्यालेस्टाइन युद्ध बल्झिरहेको छ । यी दुई छिमेकी नमिली शान्ति र स्थायित्व आउनै सक्दैन भन्ने कुरा अहिलेसम्मका तीतो र दर्दनाक घटनाक्रमले पुष्टि गरेको छ । इजरायल जतिसुकै शक्तिशाली र समृद्ध भए पनि प्यालेस्टिनीलाई सम्मानपूर्वक बाँच्ने अधिकार नदिएसम्म इजरायलमा भय र त्रासको अवस्था अन्त्य हुँदैन । त्यसै गरी प्यालेस्टिनीहरूले इजरायलको अस्तित्व स्वीकार गरी असल छिमेकी नबनाएसम्म उनीहरूको मुक्ति सम्भव छैन । मिल्नका लागि प्रमुख अवरोध बनेका दुवैतिरको अतिवादी सोच र शैलीलाई अब बदल्नै पर्छ । 

इजरायल–हमास युद्धले गाजा क्षेत्रमा चरम मानवीय सङ्कट उत्पन्न भएको छ । त्यहाँका बासिन्दाको बाँच्न पाउने अधिकार खोसिएको छ । युद्धका क्रममा युद्ध अपराध भएको छ भनी अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा मुद्दासमेत परेको छ । परिस्थिति निकै जटिल बनिसकेको यो अवस्थालाई अरू जटिल बन्न नदिन युद्ध रोक्नु नै उत्तम बुद्धिमानी हो । लामो समयदेखि थाती रहेको मध्यपूर्व शान्ति प्रक्रियालाई पुनः ब्युँताएर इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई मान्य हुने मार्ग प्रशस्त गर्न संयुक्त राष्ट्रसङ्घ र इजरायलको प्रमुख सहयोगी अमेरिकाले तत्काल पहल गर्नु पर्छ । 

युद्धविराम गर्न प्रस्तावसमेत पारित गरिसकेको संयुक्त राष्ट्रसङ्घको कदमलाई इजरायल र हमास दुवैले समर्थन गर्नु पर्छ । पछिल्लो घटनाक्रमबाट चिन्तित राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गर्नुभएको युद्धविराम प्रस्तावलाई स्वीकार गर्दै युद्ध रोकी क्षेत्रीय तनाव घटाउनु अहिलेको प्रमुख आवश्यकता हो । 

जारी युद्ध नरोकी बदलाको कारबाहीलाई निरन्तरता दिने हो भने मध्यपूर्वमा क्षेत्रीय युद्ध हुने र यसले विश्वलाई नै थप प्रभावित पार्ने खतरा अहिलेको प्रमुख चिन्ताको विषय हो । इरानमा भर्खरै सत्तामा आएका उदारवादी राष्ट्रपति पेजेस्कियानले मध्यपूर्वको यो जटिल भूराजनीतिक समस्यालाई समाधान गर्न विद्रोही समूहलाई आर्थिक र हतियार दिएर इजरायलविरुद्ध लड्न प्रोत्साहन गर्ने परम्परा बन्द गर्नु पर्छ । उहाँले हमास, हुथी र हेजबुल्लाहलाई दिइँदै आएको आर्थिक र हतियार सहयोग बन्द गरी इजरायलसँग वार्ताको  ढोका खुला गर्नु पर्छ । २१ सय किलोमिटर टाढाका दुई प्रतिद्वन्द्वी यी देशबिच कम्तीमा न्यूनतम विश्वासको वातावरण बन्न सक्यो भने मध्यपूर्वका लागि ठुलो राहत हुने छ । आफूकहाँ आएका पाहुना हानियाको हत्याले आक्रोशित इरानलाई शान्त बनाउन र इजरायलविरुद्ध प्रत्याक्रमणमा नउत्रिने अवस्था सिर्जना गर्न नयाँ राष्ट्रपति पेजेस्कियानले भूमिका खेल्नुभयो यो निकै प्रशंसाको विषय बन्ने छ । 

अतिवादी कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई हराएर राष्ट्रपति बनेका उहाँको आगमन नै अतिवादविरोधी इरानी जनताको आवाज हो । यो कुरालाई उहाँले आत्मसात् गरी इरानलाई सुधारवादी बाटोमा अग्रसर गराई इजरायलसँगको कटुता मेटाउने साथै पश्चिमा मुलुकसँग बिग्रेको सम्बन्ध सुधार गर्ने काम गर्नुभयो भने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तनावमा निश्चय नै कमी आउने छ । यो सबैका लागि खुसीको विषय बन्ने छ । उहाँले अतिवादीको प्रभावमा परेर इजरायलविरुद्ध प्रतिशोध लिने काम गर्नुभयो भने यसले सुखद परिणाम दिने छैन । 

Author

रामप्रसाद आचार्य