• १० मंसिर २०८१, सोमबार

पूर्वाधारको सुनिश्चितता गरेर मात्र राष्ट्रिय खेलकुद : मुख्यमन्त्री कँडेल

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

नवीन सुवेदी

सुर्खेत, भदौ ५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चितता गरेर मात्र मिति तोक्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । 

प्रतियोगिता बारे युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधबार वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा गर्नुभन्दा पूर्वाधारलगायतका कामहरू समयमा सम्पन्न हुने सुनिश्चित भएपछि मात्र मिति घोषणा गर्दा उपयुक्त हुने सुझाव दिनुभयो । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा हुने भनिएको उक्त प्रतियोगिताको आगामी मङ्सिर १२ गते मिति प्रस्ताव गरिएको छ ।

‘अहिले मिति तोक्ने पछि यो भएन र उ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल हुन्छौँ ।’ मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘हामी प्रतियोगिताका लागि आतुर छौँ तर अहिले भइरहेका पूर्वाधारहरू समयमै सम्पन्न हुने सुनिश्चितता पछि मात्र मिति तोकौँ।’ 

कर्णाली प्रदेशले भौतिक पूर्वाधारमा उल्लेख्य लगानी गरिसकेको बताउँदै मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट सक्दो प्रयास रहने बताउनुभयो । प्रतियोगिताको सफलताले  कर्णालीको मान, सम्मान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढ्ने बताउँदै मुख्यमन्त्री कँडेलले व्यवस्थित तवरबाट सम्पन्न गर्न पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

यसअघिका राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सङ्घ र प्रदेश सरकारबिच जिम्मेवारीको विषयमा कतिपय अन्यौलता रहेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले यस पटक  त्यसो हुन नदिन पहिले नै प्रतियोगिताको जिम्मेवारी बाँडफाँडमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको भौतिक प्रगतिको काम प्रशंसा योग्य रहेको बताउँदै भौतिक पूर्वाधार सुनिश्चित भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने धारणा व्यक्त गर्नुभयो । 

अहिलेसम्म भौतिक निर्माणमा कर्णाली प्रदेश सरकारलाई रकम उपलब्ध गराउन नसकेको बताउँदै मन्त्री चौधरीले आफूले त्यसतर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।