• १० मंसिर २०८१, सोमबार

ताप्लेजुङ गोल्डकप : सगरमाथा यूथ विजयी

blog

खेल प्रदर्शन गर्दै मोरङ र रुपन्देहीका खेलाडी । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा  सगरमाथा यूथ क्लब मोरङ विजयी भएको छ । बुधबारका भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले हराउँदै मोरङ विजयी भएको हो ।

खेल सुरु भएको १८ औँ मिनेटमा रुपन्देहीविरुद्ध मोरङका सुशील राईले गोल गर्नुभएको थियो । राईले गरेको उक्त गोल नै सगरमाथाको जितका लागि निर्णायक बन्यो । जितसँगै मोरङ सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ । 

निर्धारित समयावधिभर दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएपनि रुपन्देही गोल गर्न असफल बन्यो । सगरमाथा यूथ क्लबका कप्तान अशोक खवास सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो ।  खवासले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार क्वार्टरफाइनलको अन्तिम खेल बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबिच हुनेछ । 

आठ टोली सहभागी भएको प्रतियोगितामा यसअघि उद्घाटन खेलमा कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतलाई हराउँदै आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङ सेमिफाइनल पुगेको छ । यस्तै पाँचथर फुटबल क्लबलाई हराउँदै सलहेस युवा क्लब सिराहा पनि सेमिफाइनल पुगेको छ । 

यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।