• १० मंसिर २०८१, सोमबार

नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक छानबिन गर्दै उपसमिति

blog

सेन्थेटिक ट्रयाक बारे अनुसन्धान गर्दै अध्ययन उपसमिति । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ५ गते । नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ । 

निर्माण पुरा भएको महिना दिन बित्न नपाउँदै सेन्थेटिक ट्रयाक उप्किएको जानकारी सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) का सदस्य ले बहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामै पुगेर छानबिन गरिरहेको हो । 

समितिले बुधबार नेपालगन्ज रङ्गशालामै पुगेर स्थलगत रूपमा अनुसन्धान गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । 

सेन्थेटिक ट्रयाक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्रयाक उप्कियो सो बारेमा सूक्ष्म अनुसन्धान गरिरहेको उपसमितिका सदस्य राखेपका इन्जिनियर पूर्णबहादुर सुन्दासले बताउनुभयो । 

अध्ययन उपसमितिका संयोजक राखेप सदस्य लेख बहादुर क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्रयाकको ‘डी एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताउनुभयो । 

उहाँले थप्नुभयो, ‘हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ, यसका कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौ ।’ 

सो अवसरमा रङ्गशालामा रहनुभएका निर्माण कम्पनीका प्राविधिक मनिष कुमार शाहले यो नेपालमै यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताउनुभयो । उहाँले सेन्थेटिक ट्रयाक निर्माण कार्य गुणस्तरीय गरिएको जनाउँदै कसरी उप्कियो त्यो आफूहरूले पनि बुझ्न नसकेको बताउनुभयो । 

सो अवसरमा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, खेलकुद कर्मचारी, नागरिक समाजका अगुवा, खेलाडी तथा विभिन्न खेलका प्रशिक्षकहरूको पनि उपस्थिति रहेको थियो । राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या-सिन्कोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपियाँमा ठेक्का दिएको थियो ।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो । 

निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथी प्रश्न उठ्नुका साथै सो निर्माणको गुणस्तर चेकजाँच गर्ने राखेपका प्राविधिकमाथि पनि विभिन्न प्रश्न उठेका छन् ।