• ४ भदौ २०८१, मङ्गलबार

भियतनाममा बाढीका कारण बालबालिका विद्यालय जानबाट वञ्चित

blog

हनोइ (भियतनाम), भदौ ४ गते । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।

जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । वर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १.३ मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ । 

भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा वर्षाका कारण ११ जनाको मृत्यु  हुनुका साथै करिब दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौती सामना गर्नुपर्ने जनाएको छ ।

परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा  पुलहरू वर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय  जानका लागि असहज भएको उल्लेख गर्नुभएको छ । 

बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ । रासस/एएफपी