• १६ भदौ २०८१, आइतबार

एनपिएलको लोगो र मिति सार्वजनिक

blog

काठमाडौँ, भदौ ४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ ।

नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो । 

उहाँले क्रिकेट पूर्वाधारको अभावमा पनि सङ्घ, खेलाडीहरूको त्याग, तपस्यामा नेपाली क्रिकेटले विश्वमा आफ्नो नाम उचो बनाएको र यस्तो प्रेरणादायी खेललाई सहयोग गर्नु राज्यको दायित्व हो भन्नुभयो । मन्त्री चौधरीका अनुसार त्यसैले पनि सरकारले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तीव्र गतिमा गर्ने निर्णय गरेको हो । उहाँले नेपालमा धेरैभन्दा धेरै क्रिकेट रङ्गशाला बन्ने क्रममा रहेको जानकारी पनि गराउनुभयो । मन्त्री चौधरीले नेपाल प्रिमियर लिगका लागि सरकारबाट पूर्ण सहयोग हुने आश्वासन पनि दिनुभयो । 

यसै गरी सो कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले शुभकामना सन्देश दिनुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले पनि एनपिएलको प्रक्रियालाई सहज बनाउन ‘डेडिकेटेड डेस्क’ राख्न लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसले लिगमा समावेश हुने विदेशी क्रिकेटरको भिसासम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न पनि मद्दत गर्ने छ ।

क्यानले २० महिनाअघि फ्रेन्चाई अवधारणामै नेपाल टी–२० क्रिकेट लिगको आयोजना गरेको थियो तर सो लिग सफल हुन सकेन । यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाई लिग आइपिएल जस्तै ब्रान्ड बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, यो क्यानको पहिलो आधिकारिक नेपाल प्रिमियर लिग हो । 

यसअघि क्यान निलम्बनमा हुँदा नेपालमा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) को आयोजना हुने गर्दथ्यो तर क्यानले अब एनपिएललाई ब्रान्ड बनाउने छ, उहाँले भन्नुभयो । यसै गरी क्यानका सचिव पारस खड्काले पनि एनपिएलमार्फत फ्रेन्चाई क्रिकेटलाई अलग स्तरमा लैजाने र नेपाली क्रिकेट नयाँ युगमा प्रवेश हुने छ भन्नुभयो ।