• ४ भदौ २०८१, मङ्गलबार

प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटर्वार्ता

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : परराष्ट्र मन्त्रीको सचिवालय

 नयाँ दिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । 

सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ ।

प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार,भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबीचको पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा गर्नु भएको पत्र हस्तान्तरण गर्नु भएको छ । 

यसअघि डा. राणा र भारतका विदेशमन्त्री डा एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता भएको थियो । दुवै मन्त्रीले व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नु भएको थियो । 

दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्र लगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएका छन् ।

भारतका विदेशमन्त्री डा. जयशंकरले नेपालका  विदेशमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो । यो भ्रमण दुई मित्रवत छिमेकीहरूबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको निरन्तरता हो।

 

मन्त्री डा. राणाले सोमबार नै भारतीय समकक्षी विदेशमन्त्री एस. जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सोमबार दिउँसो उहाँहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको थियो ।  

भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।

 काठमाडौंस्थित भारतीय दूतावासले यसै विषयमा जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ  :

नेपालका माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण

१.भारतका विदेशमन्त्रीको निमन्त्रणामा नेपालका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मिति २०८१ भाद्र २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । 

२. दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दै मिति २०८१ भाद्र ३ गते द्विपक्षीय कुराकानी गर्नुभयो । वहाँहरुले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गर्नुभयो । 

३. गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् । हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको छ जुन विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ । 

४. नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा गरेका थिए । यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल गर्नुभयो । 

५. नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरियो । 

६. भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको थियो ।

७. छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ । 

नयाँ दिल्ली

२०८१ भाद्र ३




यो पनि पढ्नुहोस