• ३ भदौ २०८१, सोमबार

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबिच संवाद, कभर्डहल हामी बनाउँछौँ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग महिला भलिबल खेलाडी । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिन सोमबार बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताउनुभएको छ । 

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो । 

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । 


प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुन्नाउनुभयो । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराउनुभएको थियो भने खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए । 

उहाँले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्नुभयो । “तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नुपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस् ।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको छ भन्नुभयो ।