• १६ भदौ २०८१, आइतबार

प्रचण्ड गर्मीमा स्याउ खेती

blog

नवलपुरको मध्यविन्दु नगरपालिका –३ रतनपुरमा रोपिएको स्याउका विरुवा ।

बोमलाल गिरी 

नवलपुर, भदौ ३ गते । सामान्यतया स्याउ चिसो मौसम अर्थात् हिमाली भेगमा मात्र फल्ने फल हो । तर नवलपुरको प्रचण्ड गर्मीमा स्याउ फल्न थालेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका –३ रतनपुरमा रहेको एग्रिकल्चरल एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालिको बगैँचामा लटरम्म स्याउ फलेको छ । झण्डै १० बिघा जग्गामा स्याउ खेती गरिएको छ ।  

स्याउ बगानमा ४२ डिग्री सेल्सियस तापक्रमसम्ममा फल्न सक्ने चार हजारभन्दा बढी स्याउका बिरुवा रोपिएको रिसर्च सेन्टरले जनाएको छ । रिसर्च सेन्टरका व्यवस्थापक ईश्वर भट्टराईका अनुसार चर्को गर्मीमा फल्ने ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ गरी तीन प्रजातिका स्याउका बिरुवा रोपिएको छ ।

स्याउका बेर्ना भारतको काश्मीरबाट ल्याइएको हो । सामान्यतया: यहाँको तापक्रम २५ देखि ४० डिग्री सेल्सियससम्म हुने गर्छ । स्याउ रोपेको दुई वर्षमा अधिकांश बोटमा फूल र फल लागेका छन् । अहिलेसम्म स्याउबाट आम्दानी लिन बाँकी रहेको रिसर्च सेन्टरका  सञ्चालकको भनाइ छ । 

अर्को वर्षदेखि यहाँ उत्पादन भएका स्याउ बजारसम्म पुग्ने भट्टराईले बताउनुभयो । उहाँका अनुसार कैलालीपछि यति धेरै क्षेत्रफलमा तराईमा स्याउ खेती गरिएको हो । तराईमा नौलो मानिएको स्याउ खेतीका लागि ३५ देखि ४० लाख रुपियाँ लगानी भइसकेको उहाँले बताउनुभयो । 


लामो समय अष्ट्रेलिया बसेर फर्केका प्रा.डा. मेघराज श्रेष्ठको एकल लगानीमा स्याउ खेती गरिएको हो । स्याउ र अन्य फलफूलसँगै स्याउका बिरुवाको बिक्री वितरण गर्ने गरी बेर्ना उत्पादन समेत सुरु गरिएको र देशका विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा माग आएको पनि भट्टराईले बताउनुभयो । 

स्याउ बाहेक रिसर्च सेन्टरमा अम्बा, सुन्तला, कागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको बदामलगायतका फलफूल लगाइएको छ । त्यो बाहेक रिसर्च सेन्टरले ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरि बिक्री वितरण गर्दैआएको जनाएको छ । 

अहिले रिसर्च सेन्टरले यहाँ मात्र ३५ देखि ४० जनालाई दैनिक रोजगारी दिदैँआएको छ । तराईमा व्यावसायिक स्याउ उत्पादन हुन थालेपछि रिर्सच सेन्टर एग्रो टुरिजमको गन्तव्यको रूपमा समेत अगाडि बढ्दै गएको छ । बगैँचा अवलोकन गर्न, अध्ययन र बिरुवा लिन दैनिक २० देखि ५० जनासम्म आउने गरेको भट्टराईले बताउनुभयो ।