• १६ भदौ २०८१, आइतबार

गौशालामा नापी कार्यालय सुरु

blog

बर्दीबास समाचारदाता

बर्दीबास, भदौ ३ गते । महोत्तरीको गौशाला बजारमा मालपोतले सेवा दिन थालेको साता दिनपछि नापी कार्यालय पनि सञ्चालन हुन थालेको छ । 

गौशाला नापीका पहिला सेवाग्राही गौशाला नगरपालिका–११ का जगतबहादुर पोखरेललाई साबिक बहादुरगन्ज–४ को कित्ता नं. ६३१ को कम्प्युटर नक्सा प्रिन्ट गरेर आइतबारदेखि सेवा प्रारम्भ भएको निमित्त नापी प्रमुख किसन साहले बताउनुभयो । प्रथम सेवाग्राही पोखरेललाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रजिअ उपेन्द्र न्यौपाने, प्रहरी उपरीक्षक नकुल पोखरेललगायतले अबिर, माला, खादाका साथै लड्डु खुवाएर नक्सा हस्तान्तरण गरी नापी कार्यालय पनि औपचारिक रूपमा कार्यान्वयनमा आएको घोषणा गर्नुभयो । गौशालामा एकै साथ रहेका दुवै कार्यालयमध्ये मालपोतले गत सोमबारदेखि सेवा सुरु गरेको थियो । जलेश्वरबाट स्रेस्ता प्राप्त हुन नसक्दा नापीले भने काम गर्न सकेको थिएन । निमित्त कार्यालय प्रमुख साहले जलेश्वरस्थित नापी कार्यालयबाट केही दिनअघि नक्सा, प्लट बुक, फिल्ड बुक र फाइल नक्सालगायतका स्रेस्ता गौशाला आइपुगेपछि सेवा दिन सुरु गरिएको जनाउनुभयो । 

स्थापना भएको तीन वर्षपछि दुवै कार्यालय सञ्चालनमा आएपछि सेवाग्राही उत्साही छन् । गौशाला मालपोत अधिकृत दीपेन्द्र झाका अनुसार नापी र मालपोतले सेवा सुरु गरेपछि साबिक २१ गाविस तथा हाल गौशाला र औरही नगरपालिका तथा सोनमा र समसी गाउँपालिका गरी चार स्थानीय तहका एक लाखभन्दा बढी जग्गाधनीले करिब ५० किमी दुरीमा रहेको जलेश्वर धाउनुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो । गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजा साहले ग्रामीण भेगका जनताका लागि सर्वाधिक सरोकार राख्ने यी दुवै कार्यालयले सेवा प्रारम्भ गरेपछि कोरोना कालदेखि शिथिल भएको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउन पनि सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

२०७८ साल चैत २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएका दुवै कार्यालयमा कर्मचारी खटाइए पनि आवश्यक स्रेस्ता प्राप्त नहुँदा सञ्चालन हुने-नहुने अन्योलमा थियो ।