• २ भदौ २०८१, आइतबार

तीन वर्षमा बाँकेमा ६० जना सुत्केरीको मृत्यु

blog

पश्चिम नेपालका विभिन्न जिल्लाका गम्भीर सुत्केरीको उपचार हुने भेरी अस्पताल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २ गते । बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि आउने गर्भवती र सुत्केरी महिलाहरू समेत रहेको कार्यालयले जनाएको हो। 

स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले नेपालगन्ज जस्तो सुविधासम्पन्न ठाउँमा समेत गर्भवती महिलाको मृत्युको तथ्याङ्क चिन्ताजनक देखिएको बताउनुभयो । उहाँले त्यसको न्यूनीकरणका लागि गर्भवतीको पोषण, स्वास्थ्य चेकजाँच र आवश्यक उपचारका लागि सचेतनामा धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको साउनमा पनि एक महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०-८१ मा १८, आर्थिक वर्ष २०७९-०८० मा २० जना र आर्थिक वर्ष २०७८-७९ मा २२ जना गर्भवती, सुत्केरी आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सबैभन्दा बढी स्वास्थ्य संस्थाको पहुँचमा रहेको नेपालगन्जकै गर्भवती-सुत्केरीको मृत्यु भएको तथ्याङ्क छ । गत आर्थिक वर्षमा मृत्यु भएका १८ मध्ये नेपालगन्ज उपमहानगरपालिका ७, खजुरा गाउँपालिकाका २, डुडुवा गाउँपालिकाका २, नरैनापुर गाउँपालिका ३, राप्तीसोनारी गाउँपालिकाका २ र बैजनाथ तथा कोहलपुरका १-१ जना छन् । 

यसरी मृत्यु हुने १८ जनामध्ये सबैभन्दा बढी १६ जना मधेसी र मुस्लिम समुदायका महिलाहरू रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । श्रेष्ठले भन्नुभयो, "नियमित स्वास्थ्य चेकजाँच नगराउने, गर्भवती भएको थाहा हुने बित्तिकै स्वास्थ्य संस्थामा नजाने, स्वास्थ्यकर्मीले सुझाव दिए अनुसार स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति बढी मधेशी र मुस्लिम समुदायमै छ ।" 

चेतनाको अभावले उचित स्याहार सुसार, पोषण र गर्भवतीमा स्वास्थ्य समस्या देखिँदा समयमै अस्पताल नलगेका कारण पनि मातृ मृत्यु नियन्त्रण हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

गर्भवतीको सबै परीक्षण निःशुल्क गर्न र पोषणमा सहयोग पुर्‍याउन राज्यका निकायहरूको ध्यान जान आवश्यक देखिएको छ । मातृ मृत्यु नरोकिनुका प्रमुख कारणहरूमा घरमै बच्चा जन्माउने प्रयास गरी ढिलो गरी अस्पताल पुर्‍याउने, कम उमेरमै विवाह गरी आमा बन्ने, विभिन्न स्वास्थ्य समस्या हुँदा चिकित्सकको नियमित परामर्श नगर्ने, स्याहार, पोषणको कमी लगायत रहेको नेपालगन्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. फरहत बानुले बताउनुभयो । उहाँले यी सबै विषयमा मधेशी र मुस्लिम समुदायमा विशेष चेतना फैलाउनु आवश्यक रहेको जनाउनुभयो ।