• २ भदौ २०८१, आइतबार

बार्सिलोनाको विजयी सुरुवात

blog

गोल गरेपछि खुसी मनाउँदै बार्सिलोनाका खेलाडी ।

काठमाडौँ, भदौ २ गते । स्पेनिस महारथि बार्सिलोनाले नयाँ सिजनको ला लिगामा विजयी सुरुवात गरेको छ । मोस्टाला स्टेडियममा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हरायो ।

बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गर्नुभयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोको सुरुवाती गोल सान्त्वना बन्यो । खेलका सुरुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । ४४औँ मिनेटमा डुरोले गोल गर्दै भ्यालेन्सियको उत्साह जगाउनुभयो । तर त्यो उत्साह लामो समय टिकेन । 

पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । लेवान्डोस्कीले ४९औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जिताउनुभयो । सिजनको पहिलो जितसँगै बार्सिलोनाले तीन अङ्क बनाएको छ । भ्यालेन्सियाले हारबाट सिजनको सुरुवात गरेको छ । 

यस्तै इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले इप्सविच टाउनलाई २–०, आर्सनलले वल्भ्सलाई २–० र एस्टन भिल्लाले वेस्ट हाम युनाइटेडलाई २–१ गोलले हराउँदै नयाँ सिजनका सुखद सुरुवात गरेको छ । एजेन्सी