• २ भदौ २०८१, आइतबार

जनैको व्यापार फस्टाउँदो

blog

पूजा सामग्रीमा जनै किन्दै स्थानीय । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ २ गते । पछिल्लो समय गाउँमा जनै बाट्ने प्रचलन हराउन थालेको छ । हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरि प्रयोग गर्ने क्रम बढेको हो । जनै पुर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर लगाउने गरिएको छ ।  जसले आइतबार जनै किन्नेहरूको भीडभाड रहेको व्यवसायी बताउँछन्  ।

गणेश धार्मिक पसलका नारायण खनालले बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा पाउने बताउनुभयो । व्यापारीले आफ्नो रेट अनुसार जनै विक्री गर्ने गरेको उहाँले बताउनुभयो । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य छ रुपियाँ र हातले बनाएको जनै प्रतिगोटा १५ रुपियाँमा आफूले पनि विक्री गरेकोे उहाँले बताउनुभयो । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यता अनुसार अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षा बन्धन धागोको व्यापार बढेको उहाँले बताउनुभयो ।

स्थानीय कुमार बास्तोला पनि पूजा सामग्रीमा जनै खरिद गर्न आएको बताउनुहुन्छ । पहिले गाउँघरमा घरमा नै हजुरबुबाहरुले जनै बाट्ने गरेको भएपनि अहिले आफूलाई फुर्सद नहुने हुँदा धार्मिक पसलमा नै जनै किन्नको लागि आउने गरेको बताउनुभयो । त्यस्तै किशोर शर्माले पछिल्लो समय आफैंले पनि बजारबाट खरिद गरि प्रयोग गर्ने गरेको बताउनुहुन्छ । भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त नहुने भएपनि त्यहि किन्न बाध्य भएको उहाँले बताउनुभयो ।

कावासोतीका पण्डित नारायण भुसालले जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले घरमै धागो ल्याएर बाटिन्थ्यो अहिले कसैलाई फुर्सद नै छैन ।” नेपालको तराई मधेशमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबिच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । तर पछिल्लो समय बजारमा पाइने रंगीविरगी रक्षाबन्धनले गर्दा भड्किलो जस्तो देखिन थालेको छ । जो कोहिले पनि बजारमा पाइने रक्षाबन्धन किन्नै पर्ने होकी भन्ने भ्रमले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो बान्न छोड्ने चिन्ता थपिएको बताउनुभयो ।

नवलपुरको कावासोतीमा रहेको शिवशतिm पूजा सामाग्री पसलका होमनाथ उपाध्यायले विगतका वर्षहरुमा गाउँघरमा ब्राहमण तथा क्षेत्री समुदायका व्यक्तिहरुले १ महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको बताउनुभयो । तर आफू व्यापारी भएकाले आयातित जनै खरिद विक्री गर्ने गरेको बताउनुभयो ।