• २ भदौ २०८१, आइतबार

पाल्पा अस्पतालमा बिहान ८ देखि ओपिडी सेवा

blog

बिन्दु थापा 

पाल्पा भदौ २ गते । पाल्पा अस्पतालमा बिरामीलाई सेवा छिटोछरितो सेवा दिने उद्देश्यले बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरिएको छ । ‘धेरै बिरामीहरू ओपिडीमा आउने हुँदा अस्पतालले पहिलो प्राथमिकता दिएर सेवाहरू दिँदै आइरहेको सूचना अधिकारी रेडियोग्राफर प्रमीला पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको छ, यसो गर्दा बिरामीलाई रिपोर्ट कुर्ने झन्झट कम हुनेछ, यस्तै सुगरका बिरामीका लागि दैनिक बिहान ८ बजेदेखि नै रगत सङ्कलन गरी जाँच गर्दैआएको छ ।’

अस्पतालमा भिड तथा लाइन व्यवस्थापन गर्न टोकन मेसिन सञ्चालनमा ल्याइनुका साथै व्यवस्थापन गर्न कर्मचारीलाई थप जिम्मेवारी दिइएको छ । अस्पतालमा पर्याप्त नभएका सेवाको बारेमा लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रीलाई बताइसकेको जिल्ला अस्पताल पाल्पाका अस्पताल विकास समिति निवर्तमान अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो । 

अस्पतालमा ८० देखि ९० प्रतिशत नागरिकले स्वास्थ्य बिमाबाट उपचार सेवा लिइरहेका छन् । अस्पतालका अनुसार पाल्पामा स्वास्थ्य बिमा प्रभावकारी रहेको बताइएको छ । ३ हजार ५ सय रुपियाँमा स्वास्थ्य बिमा गरेका बिमितका परिवारका ५ जनाले १ लाख रुपियाँसम्मको उपचार गर्न पाउने प्रावधान रहेको छ । 

यसैगरी स्वास्थ्य बिमा गरेका बिरामीका लागि ९० प्रतिशत औषधी अस्पतालमा उपलब्ध हुनुका साथै र २४ घण्टा ल्याब सञ्चालन भएको हुँदा बिमितका बिरामीले राम्रो उपचार सेवा पाइरहेका छन् । 

पाल्पा अस्पतालमा बिमा कार्यक्रम लागू भएपछि बिमितहरुले औषधी राम्रो पाइरहेको सेवाग्राही सन्तोष कार्कीले बताउनुभयो । ओपिडीमा दैनिक ३ सय देखि ४ सयसम्मको हाराहारीमा अस्पतालले बिरामीलाई सेवा दिँदैआएको छ । धेरैजसो बिरामी सुगर, प्रेसर, दम, हाडजोर्नीसम्बन्धि, ज्वरो र झाडापखाला लगायतका बढी आउने गरेको अस्पतालले जनाएको छ ।

बिमाले तोकिएको अस्पतालभन्दा अन्य अस्पतालमा सेवा सहज रूपमा नदिँदा गम्भीर बिरामीको ज्यान खतरामा रहने अस्पतालमा आएका सेवाग्राही दिनेश थापाको भनाइ छ ।

यसैगरी जिल्ला अस्पताल पाल्पाले २४ घण्टे सेवाहरू बिस्तार गरी अस्पतालले आकस्मिक तथा अन्तरङ्ग सेवाका अतिरिक्त आकस्मिक बिरामीका लागि फार्मेसी, प्रयोगशाला, एक्स-रे सेवा एम्बुलेन्स सेवा, अन्तरङ सेवा, प्रयोगशाला, फार्मेसी नाम दर्ता र एक्स-रे तथा ओपिडी, आँखासम्बन्धी चेकजाँच, दन्त सेवा, दिँदैआएको छ ।