• २ भदौ २०८१, आइतबार

थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

blog

बैङ्कक, भदौ २ गते । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गर्नुभएको छ ।

सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।

राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।

अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उहाँको स्थान पेन्टोगटार्नले लिनुभएको हो । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुनुहुन्छ ।

संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उहाँको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ । रासस/एएनआई