• १६ भदौ २०८१, आइतबार

लाखे जोगाउन युवापुस्ता

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), भदौ २ गते ।  बेनीमा नागपञ्चमीदेखि सुरु भएको बर्खे नाचमा आठ वर्षका बालकलाकार सालिन श्रेष्ठ, विहान भण्डारी, समन श्रेष्ठ र विकल्प श्रेष्ठ लाखेको भेषमा सजिएर दैनिक जसो नाचिरहेका छन् ।

लाखेको खप्पर लगाएर ठुलो मृदङ्गा, मादल, झ्याली र ढोलकीको तालमा उनीहरू नाच्दै बजार परिक्रमा गर्छन् । युवाको सक्रियतामा बेनीमा यतिखेर बर्खे नाच अन्तर्गतका विभिन्न नाच देखाउन थालिएको छ । लाखे नाचलगायत नेवारी समुदायको मौलिक संस्कृति झल्किने नाचहरू तिजसम्म देखाउने प्रचलन छ । लाखे नाचलाई नेवार समुदायको संस्कृतिका रूपमा लिने गरिन्छ । लाखे नाचको मौलिकता र नाच्ने कला नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । नेपाल भाषा मङ्का खलःका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि युवालाई तालिम र प्रशिक्षण दिने गरिएको जानकारी दिनुभयो ।

मौलिक कला संस्कृतिको संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेका कारण बेनीमा लाखे नाचलगायत अन्य नाच र संस्कृति जीवन्त रहेको श्रेष्ठको भनाइ छ । लाखे बन्दै आउनुभएका बालकलाकार विकल्पले मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर पाका पुस्ताबाट लाखे नाच्ने कला र सिप सिकेको बताउनुभयो ।

बेनीमा पाँच वर्षयता लाखे नाच प्रदर्शन हुँदै आएको छ । नेपाल भाषा मङ्काः खलः अन्तर्गतको ल्याम्हः पुचःमा आबद्ध भएका युवाको सक्रियतामा लाखे नाचका साथै घोडा नाच, सापारु, नागानागिनी नाच, गाईजात्रा, श्रीकृष्ण रथयात्रा र जोगी नाच एक महिनाको अवधिसम्म प्रदर्शन गरिने ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो ।