• १ भदौ २०८१, शनिबार

साफ यु–२० फुटबल : सहभागी सबै टोलीको लक्ष्य उपाधि

blog

च्याम्पियनसिपका लागि तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १ गते । साफ यु–२० फुटबल च्याम्पियनसिप आइतबारदेखि सुरु हुँदैछ । दशरथ रङ्गशाला बिग्रिएका कारण अन्तिममा सातदोवाटोस्थित एन्फा मुख्यालय सारिएको च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागिता रहनेछ ।

च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले राम्रो तयारी गरेकाले घरमै उपाधि राख्ने बताउनुभयो ।

‘‘एन्फा मैदानमै हाम्रो ४५ दिन तयारी भयो । खेल समेत यही हुँदा हामीलाई धेरै फाइदा छ । टोलीमा ‘ए’ डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी रहेकोले हामी सबैलाई दबाब दिन सक्छौँ,’’ प्रशिक्षक श्रेष्ठले भन्नुभयो । 

नेपालका कप्तान कुशल देउजाले च्याम्पियनसिपका लागि नेपाली टोली पूर्ण रुपमा तयार रहेको बताउनुभयो ।  ‘तयारी राम्रो भएको छ र लक्ष्य उपाधि हो । टिमको मेन्टालिटी र युनिटी राम्रो छ । गत वर्ष अलि एक्सपोजर कमी थियो । यसपटक राम्रो एक्सपोजर पाएका छौँ । हामी राम्रो खेल्दै च्याम्पियनसिप जित्नेछौँ,’’ देउजाले भन्नुभयो । नेपालले आइतबार उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । 

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत यस च्याम्पियनसिपको साविक विजेता हो । पत्रकार सम्मेलनमा भारतसहित सबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने धारणा राखेका थिए ।