• ३२ साउन २०८१, शुक्रबार

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन प्रहरी प्रतिष्ठानको निरीक्षण

blog

राष्ट्रिय प्रहरी प्रतिष्ठानको अवलोकनका लागि शुक्रबार पनौती आईपुग्नु भएका गृहमन्त्री रमेश लेखक । तस्बिर : गोरखापत्र

केदार तिमल्सिना 

बनेपा, साउन ३२ गते । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६ दलिन्चोकमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ । 

शुक्रबार मन्त्री लेखकसहित भारतीय राजदुत नविन श्रीवास्तव, प्रहरी महानिरीक्षक बसन्तकुमार कुँवरको टोलीले निर्माणाधीन प्रतिष्ठानको कामको निरीक्षण गरेको हो । प्रतिष्ठानको निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले प्रतिष्ठानको काम गुणस्तरीय रुपमा समयमा नै सम्पन्न गर्नका लागि निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिनुभयो ।

उहाँले समयमा नै काम सम्पन्न गर्दा हाल विनियोजन गरिएको बजेटले पुग्ने र काममा ढिलाई भएको खण्डमा लागत समेत बढ्ने भएकोले सममा नै काम सम्पन्न गर्नका लागि आईपर्ने समस्या समाधानका लागि सरकारको तर्फबाट सहयोग हुने बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले प्रहरी प्रतिष्ठान निर्माण आयोजना भारत सरकारको सबैभन्दा ठुलो अनुदानको आयोजना रहेको बताउनुभयो । उहाँले भारत सरकार पनि प्रतिष्ठान निर्माणको काम समयमा नै सम्पन्न हुनुपर्ने पक्षमा रहेकोले निर्माण व्यवसायीलाई समयमा नै काम गर्न निर्देशन दिनुभयो । 

राजदुत श्रीवास्तवले प्रतिष्ठान निर्माणको लागि मास्टर लिस्टमा रहेका केही सामाग्री ल्याउन कठिनाई रहेको बताउँदै त्यसका लागि भारत र नेपाल सरकारले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा परामर्शदाता केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारतका तर्फबाट इन्जिनियर राजेश कुमारले हालसम्म प्रतिष्ठानको ३१ प्रतिशत भौतिक र मोविलाइजेशन (पेश्की) सहित कुल वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिनुभएको थियो । 

उहाँले प्रतिष्ठानका लागि अन्तर्राष्ट्रिय स्तरका प्रशासकिय भवन, इनडोर तथा आउटडोर खेलकुद मैदान, स्विमिङ पुललगायतका आवश्यक संरचना निर्माणको लागि करिब दश अर्ब १५ करोड नेपाली रुपियाँ खर्च हुने बताउनुभयो ।

पनौती नगरपालिका–६ मा निर्माण भईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सन् १९९६ (२०५२) सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय सरकारको अनुदान सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सहमति भएको थियो ।

भारत सरकारसँग सहमति भएसँगै २०५२ सालदेखि नै प्रतिष्ठानको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम सुरु भएको थियो । सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिष्ठान निर्माणको लागि औपचारिक सम्झौता भएको थियो ।

प्रतिष्ठान निर्माणको लागि केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारत सरकारको तर्फबाट परियोजना परामर्शदाताको रूपमा रहेको छ । प्रतिष्ठान निर्माणको लागि अहलुवालिया कन्ष्ट्रक्सन लिमिटेड (भारत) र रोशन कन्ष्ट्रक्सन प्रालिको संयुक्त जेभीबीच सम्झौता भएको थियो । 

ठेकेदार कम्पनीबीच २७ जुन २०२२ मा निर्माण सम्झौता भएको थियो भने निर्माण कम्पनीले निर्माण सम्झौता भएको मितिले एक हजार ९५ दिन अर्थात् तीन वर्ष अर्थात् १२ जुलाई २०२५ भित्र प्रतिष्ठानको सम्पूर्ण संरचना निर्माण गरि हस्तान्तरण गरिसक्नुपर्नेछ ।