• १ भदौ २०८१, शनिबार

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी लागू भएपछि सेवाग्राहीलाई सहज

blog

जिल्ला अदालत म्याग्दी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन ३२ गते । 
म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी (अटोमेसन प्रणाली) लागू भएको छ । एक वर्ष अघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेशी म्याग्दी जिल्ला अदालतमा पनि लागू भएको हो ।

साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेशी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको अदालतले जनाएको छ । अदालत आफैँले मुद्दाको पेशी तोक्दा पक्ष विपक्षका बिच विवाद हुने जस्ता समस्याहरू अटोमेसन प्रणाली लागू भएपछि अन्त्य हुनुका साथै सेवाग्राहीलाई सहज भएको अदालतले जनाएको छ  ।

अंश पुगेका मुद्दाहरू सिस्टममा राखेपछि स्वचालित रूपमा पेशी चढ्ने मिति निर्धारण हुने श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो । न्यायपालिकाको रणनीतिक योजनाले सरल, सामान्य र विशेष गरेर मुद्दाको वर्गीकरण गरे अनुसार सिस्टमले पनि त्यही अनुसार मुद्दाको पेशी चढाउने गरेको छ । अटोमेसन प्रणाली लागू भएपछि मुद्दाको प्रकृति र विषय अनुसार छुट्टाएर हेर्ने हुँदा सहज भएको उहाँको भनाइ छ ।

यस अघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख र पेशी तोक्ने गरिएको थियो म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले भन्नुभयो, ‘‘अटोमेसन प्रणाली लागू भएपछि मुद्दाको प्रकृति अनुसार सिस्टमले आफै पेशीको मिति तोक्ने छ । यसले गर्दा मुद्दाको पेशीका बारेमा पक्ष र विपक्षका बिच हुने बादबिवादलाई अन्त्य गरेको छ ।’’

चिनेजानेको कानुन व्यवसायी र पहुँचवालाले आफ्नो पेशी अनुकूलतामा राख्ने गरेकोमा यो प्रणालीले लागू भएपछि सबैलाई समान व्यवहार भएको उहाँको भनाइ छ । 

बालबालिका सँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले सिस्टमले पनि त्यही अनुसार पेशी चढाउने काम हुने श्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

प्रत्येक आइतबार बालबालिकासँग सम्बन्धित मुद्दा, ६ महिना भित्र टुङ्गाउने मुद्दालाई सोमबार र मङ्गलबार, एक वर्ष भित्र हेर्नुपर्ने मुद्दालाई बुधबार, एक वर्षदेखि डेढ वर्ष भित्रका मुद्दाहरू बिहीबार र शुक्रबार अदालतबाट फैसला भएका मुद्दाहरूको कार्यान्वयनका लागि तयारीका साथै आएका निवेदनहरू हेर्ने गरिएको श्रेस्तेदार रेग्मीले जानकारी दिनुभयो । 

यसैगरी, अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष पाँच सय ९३ मुद्दा रहेकोमा चार सय ४८ वटा फर्छ्यौट भएर एक सय १० मुद्दा चालु वर्षमा जिम्मेवारी सरेका छन् । गत वर्ष पनि अघिल्लो वर्षका एक सय सय ३२ मुद्दा सरेर आएकोमा चार सय ६१ मुद्दा थपिएका थिए । जसमध्ये देवानी मुद्दातर्फ तीन सय १७ सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा गत वर्ष दुई सय ६७ थान मुद्दा फर्छ्यौट भएका छन् । अदालतमा धेरै जसो सम्बन्ध विच्छेदका मुद्दाहरू आउने श्रेस्तेदार रेग्मीको भनाइ छ ।

यस्तै फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरेर आएका ८ नयाँ दर्ता ७० र फर्छ्यौट भएका ३५ गरी ४३ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।