• ३२ साउन २०८१, शुक्रबार

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

blog

कोहलपुर नगरपालिकाको कार्यालय । तस्बिर :सिराज खान

सिराज खान
नेपालगन्ज, साउन ३२ गते । 
बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालमा भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुभएको स्वास्थ्य बिमा कार्यक्रम भदौ १ गते आइतबारबाट सुरु हुने  कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो ।   

प्रमुख आचार्यले नगरवासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन नगरपालिकाले सुरु गर्न लागेको बिमा कार्यक्रम देशका केही मात्र पालिकामा सञ्चालनमा रहेको बताउनुभयो ।

स्थानीय नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बिमा कार्यक्रम सुरु गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो ।

कोहलपुरमा रहेको नगर अस्पताललाई गरिब, विपन्न र न्यून आय भएका सर्वसाधारणको उपचारको प्रमुख केन्द्र बनाइने जानकारी दिनुहुँदै उहाँले यो अस्पताललाई आवश्यक रहेका केही उपकरण र सेवा सुविधा स्वास्थ्य मन्त्रालयबाट माग गरिएको बताउनुभयो ।