• ३२ साउन २०८१, शुक्रबार

पहिरो विस्थापित तीन वर्षदेखि टहरामा

blog

हुप्सेकोट १ जुकेपानीमा अवस्थित अस्थायी टहरा । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, साउन ३२ गते । 
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी बस्तीमा अवस्थित यस गाउँपालिकाका सबै वडाका जमिन चिराचिरा पर्ने र ध्वजा फाट्ने गरेको हुँदा प्राकृतिक विपद्को जोखिम उच्च रहेको छ ।

गाउँपालिकाको पहाडी क्षेत्र पहिरोको जोखिममा र समथर भू–भागमा नदी कटानको समस्या छ । यहाँका अति उच्च जोखिम अवस्थामा वडा नम्बर १, ४, ६ र उच्च जोखिम अवस्थामा वडा नम्बर २, ३, र ५ रहेका छन् ।

२०७८ असार २३ गते आएको वर्षाले वडा नम्बर ५ को वाकखोरका १८ घरपरिवार विस्थापित भएका छन् भने भदाै ११ गतेको वर्षाका कारण चारघरेका एकै परिवारका तीन जनाको पहिरोमा परी ज्यान गएको थियो । 

२७ वर्षीया धनिसरा पुलामी हुप्सेकोट गाउँपालिका वडा नम्बर १ जुकेपानीमा बस्दै आएको तीन वर्ष भयो । धुनिसरा पुलामीको परिवार मात्रै होइन वडा नम्बर ५ को वाकखोरका १८ घरपरिवार पहिरोबाट विस्थापित भएको तीन वर्ष भयो । उनीहरू जुकेपानीमा रहेको सामुदायिक वनमा अस्थायी टहरामा बस्दै आएका छन् । ७१ वर्षीया माया बाह्रघरेलाई बुढेसकालमा अस्थायी टहरामा बस्नुको पीडा खपिनसक्नु छ ।

अरुणखोला, केरुङगे खोला र गिरुवारी खोलाको मुहान क्षेत्र हुप्सेकोट गाउँपालिकाको राम्चे, पिपलडाँडा भएको हुँदा सो क्षेत्रमा पहिरो जाँदा जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा डुबान र कटानको जोखिम बढी हुने गरेको छ ।

केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले राम्चेगाउँका ४० घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । गाउँ नजिकै बर्सेनि सानाठुला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।

हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको बताउनुभयो । ६ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकाको बसेनी, राम्चे, पिपलडाडा, नाम्जाकोट, पेलेका, दमार, पाङग्रे लगायतका क्षेत्रका मानिसहरू कतिबेला पहिरोले बगाउने हो भन्ने डरमा बसिरहेको उहाँले बताउनुभयो ।

राम्चे पहिरोका कारण ४०, हर्देमा १५, रुद्रपुरको ४० घर र साङ्गेस्थित त्रिभुवन आधारभूत विद्यालय, वडा नम्बर ६ को पिपलडाँडा पहिरोका कारण १ सय ६० घरधुरी उच्च जोखिममा रहेको छन् । सो स्थानमा जुनसुकै समयमा पहिरो गई धनजनको क्षति हुने अवस्था रहेकाले बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरणका लागि व्यवस्था मिलाउन हुप्सेकोट गाउँपालिकाले प्रदेश र सङ्घमा ताकेता गरिरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै अस्थायी टहरामा दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् ।