• ३२ साउन २०८१, शुक्रबार

यु–२० फुटबलको कप्तानमा कुशल

blog

आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिपको तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौँ, साउन ३२ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ ।

प्रशिक्षक उर्जन श्रेष्ठले यूथ फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका कुशललाई कप्तान नियुक्त गर्नुभएको हो । मिडफिल्डर उहाँले यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसक्नुभएको छ । यस्तै  उहाँले गतवर्ष भएको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीबाट सिनियर टोलीमा पनि खेल्नुभएको थियो । ललितपुरले उपाधि समेत जितेको थियो । 

यु–२० साफ च्याम्पियनसिप आइतबारदेखि काठमाडौँमा सुरु हुँदै छ । यसअघि दशरथ रङ्गशालामा गरिने तचय भएको यस प्रतियोगिता दशरथ रङ्गशाला बिग्रिएका कारण एन्फा मैदान सातदोबाटोमा सञ्चालन गरिने तयारी गरिएको छ ।

एन्फाले सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा खेलाउने तयारी गरेको छ । एन्फाका अनुसार दशरथ रङ्गशालामा खेल हुन सक्ने या नसक्ने विषयमा साफका म्याच कमिसनारले निरीक्षण गरेपछि तय गरिनेछ । 


च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ । 

च्याम्पियनसिपमा भाग लिन भुटानको युवा टोली शुक्रबार काठमाडौँ आइपुगेको छ । भुटानले सोबार साबिक विजेता भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ ।