• ३२ साउन २०८१, शुक्रबार

उपसचिव अवधकिशोरलाई भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, साउन ३१ गते । मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कुशवाहासहित पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवविरुद्ध सो मुद्दा दायर भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सो मन्त्रालयबाट भएको ठेक्काको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि भुक्तानीसम्मको कार्यमा सङ्लन्न रही फिल्डमा हुँदै नभएको कार्यको काम भएको हो भनी नापी किताब, बिल र सोही अनुसारको कार्य सम्पन्न प्रतिवेदन तथा कागजातहरू तयार एवम् प्रमाणित गरी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी सो रकम बढी भुक्तानी गराइ नेपाल सरकारलाई गैरकानुनी हानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सो मुद्दामा जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी/सञ्चालक राकेश प्रसाद जयसवालले वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गराइ सो रकम बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ । 

उनीहरुविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ बिगो रकम कायम गरी जफत हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।