• १० मंसिर २०८१, सोमबार

मनमोहन अस्पतालमा मुटुको जटिल शल्यक्रिया

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३१ गते । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गर्भवती महिलाको मुटुको जटिल शल्यक्रिया भएको छ । 

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले अस्पतालमा गर्भवतीको मुटुको जटिल शल्यक्रिया भएको जानकारी दिनुभयो । 

अस्पतालका अनुसार डा. भट्टराईको नेतृत्वमा चार दिन अघि नगरकोटका २२ वर्षीया ३५ हप्ताको गर्भवतीमा मुटुको जटिल शल्यक्रिया भएको हो । उहाँ मुटुको मुख्य नसा च्यातिन लागेको अवस्थामा अस्पताल आएको डा. भट्टराईले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “अस्पतालमा मेरो नेतृत्वमा ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छौँ । जुन संसारमा नै जटिल र उच्च जोखिमयुक्त मुटुको शल्यक्रिया हो ।” डा. भट्टराईका अनुसार सुरुमा स्त्रीरोग विशेषज्ञको टोलीले बच्चा निकालेर मुटुको शल्यक्रिया गरेको थियो । 

बिहिबार बिरामीलाई वार्डमा सारिएको र उहाँको स्वास्थ्यमा सुधार आएको डा.भट्टराईले जानकारी दिनुभयो ।  यस्तो अवस्थामा थोरै मात्र ढिला गरेमा नसा फुटेर आमा र बच्चालाई बचाउन निकै मुस्किल पर्ने उहाँको भनाइ छ ।