• १६ भदौ २०८१, आइतबार

आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध

blog

धार्चे गाउँपालिका-७ खानेबेशीमा सडक बाढीले बगाएको स्थल ।

गुणबहादुर रोका

सुलीकोट, साउन ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध भएको छ । गत साउन १६ गते परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ खानीबेशीको खोलामा आएको भीषण बाढीले सडक बगाउँदा सो सडक अवरुद्ध भएको हो ।

धार्चे र चुमनुब्री गाउँपालिकाका अधिकांश स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याउन उत्तरी गोरखा पुग्ने अधिकांश सवारीसाधन तथा पैदल यात्रीहरू लगायत उत्तरी भेगका आम नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत प्रभाव परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । 

खानी बेसी खोलामा आएको भाषण बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधनहरू खानीबेशीबाट उतै रोकिएर बसेका छन् भने गोरखा सदरमुकामदेखि काठमाडौँ, पोखरा र चितवन जाने यात्रुहरू तथा सुत्केरी तथा बिरामीहरूलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो । 

खानी बेसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । मुख्य सडक भएकाले सडक खुलाउन धार्चे गाउँपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी अस्थायी सडक निर्माण गर्न कडा भूगोल चट्टान र भीर भएकाले पनि अहिले सम्म सडक सुचारु गर्न नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।  

बाढीले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधरणहरुलई सास्ती बेहोर्नु परेको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “अहिले त्यस सडक क्षेत्रमा अस्थायी बाटो निर्माण गर्न धार्चे गाउँपालिकाको पहलमा जेसिबी र ब्रोकर लगाएर कडा चट्टान फुटाउन नसक्दा सडक सुचारु हुन ढिला भएको हो ।” 

वैकल्पिक बाटो निर्माण गरी सडक सुचारु गर्न गाउँपालिकाको प्राविधिक टोलीले अध्ययन गरिरहेकाले अबको केही दिनमा उत्तरी गोरखावासीलाई सडक मार्ग भएर यात्रा गर्न सहज बनाई आवतजावत गर्न सहज गराउने प्रयास भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।