• १६ भदौ २०८१, आइतबार

सार्वजनिक सवारी साधनमा अपाङ्गताका समस्या सहजीकरण गरिने

blog

ट्राफिक प्रहरी प्रमुखसँग छलफलमा अपाङ्गता भएका व्यक्तिहरु । तस्बिर : भवानी ऐर

भवानी ऐर 

गोदावरी (कैलाली), साउन ३० गते । अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताउनुभएको छ ।

सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा बुधवार ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले यस्तो बताउनुभएको हो । 

छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परेको बताउनुभयो । उहाँले पछिल्लो समय ट्राफिक प्रहरीबाट केही राम्रा प्रयास भए पनि समग्रमा अझै अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा राज्यबाट पाएका सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । 

अध्यक्ष साउदसँग ट्राफिक कार्यालय पुगेको अपाङ्गता अधिकारकर्मीको टोलीले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ र अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७ को उपदफा २ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा पचास प्रतिशत छुट, सिट आरक्षणको व्यवस्था गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा अझैसम्म कार्यान्वयन नभएको र सम्मानजनक भाषाको प्रयोग लगायतका मुद्दा कार्यान्वयन हुन नसकेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । 

यस विषयमा गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीमा सबै सार्वजनिक यातायात सञ्चाल गरिरहेका बस व्यवसायी समिति पदाधिकारीसँग छलफल भए पनि उहाँहरुले आफ्नो व्यवसाय धराशायी भएकाले भाडा छुट तथा सिट आरक्षण दिन नसक्ने बताउनुभएको थियो । अहिले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानुनको कार्यान्वय गर्न गराउन प्रशासनको दायित्व भन्दै ट्राफिक प्रहरीसँग समन्वय गर्न लगाउनुभएको अध्यक्ष साउदको भनाइ थियो । 

छलफलमा क्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि प्रहरी सजग रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सवारी साधनमा सहज यात्रा गर्न र राज्यले दिएका सुविधा कार्यान्वयन गर्न गराउनका लागि प्रदेशका नौवटै जिल्लामा सर्कुलर गरिने बताउनुभयो ।