• १६ भदौ २०८१, आइतबार

प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण

blog

भूमे गाउँपालिका ।

जयमान बुढामगर

रुकुमपूर्व, साउन ३० गते । भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना ब्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । गाउँपालिकामा विपन्न घर परिवारका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिना ब्याज शैक्षिक ऋण (कर्जा) दिँदै आएको हो । 

आर्थिक वर्ष २०७७-०७८ सालदेखि यो सुविधा सुरुवात भएको हो । २०७७-०७८ देखि सुरु गरिएको बिना ब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी दुई जना, भेटेरिनरी दुई र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई र डिप्लोमा एचए एक गरेर जम्मा सात जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सहायक टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

यस्तै, जेहेनदार तथा विपन्न घरपरिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत पनि गाउँपालिकाले पढाउने गरेको छ । हालसम्म उद्यम विकास सहजकर्तातर्फ भूमे–४ का मनीषा पुन, भूमे–९ का सपना पुन, दीपशिखा पुन, सपना बुढा र विद्युत् प्राविधिकमा भूमे–८ का शिशिर रोका, भूमे–२ का विपना घर्ती र अन्जना बुढा, भूमे–७ का विनज्योति बुढालाई गाउँपालिकाले छात्रवृत्तिमा पढाइराखेको गाउँपालिकाले जनाएको छ । 

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिना ब्याज ऋण र छात्रवृत्ति प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यी विद्यार्थीलाई राम्रोसँग पढाएर गाउँपालिकाभित्र नै उच्च शिक्षा र प्राविधिक धारतर्फ जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले बिना ब्याज शैक्षिक ऋण र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताउनुभयो । ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।