• १६ भदौ २०८१, आइतबार

त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि

blog

उदयपुर, साउन २९ गते । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन् । 

करेसाबारी, गोठ र खेतमा काम गर्दा करेतलगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ । हाल त्रियुगा नगरक्षेत्रमा दैनिक पाँचदेखि छ जनासम्म सर्पदंशका बिरामी उपचार केन्द्र भुल्केमा उपचारका लागि आउने गरेको उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीले बताउनुभयो । अधिकांश सर्पदंशका बिरामीहरु त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ । 

सर्पदंशका बिरामीमध्ये धेरैजसो रातिको समयमा खेतमा पानी लगाउन जाने र घर वरपर काम गर्ने, गोठमा साँझ बिहान काम गर्ने भएको स्थानीय ज्ञानबहादुर बस्नेतले बताउनुभयो । साउनको पहिलो सातादेखि तेस्रो सातासम्ममा एक सय ५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको र उनीहरु निको भएर घर फर्किएको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिनुभयो । रासस