• १८ पुस २०८१, बिहिबार

सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध : कानुनमन्त्री

blog

मङ्गलबार सङ्घीय संसद, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक

काठमाडौँ, साउन २९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद्, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले मुलुकमा नैतिक मूल्य र मान्यतालाई स्थापित गराउन आफू जस्तोसुकै कडा कानुन बनाउन पनि तयार रहेको पनि स्पष्ट पार्नुभयो । राष्ट्र निर्माणका लागि सबभन्दा आवश्यक तत्त्व सदाचार नीति भएको उल्लेख गर्नुहुँदै मन्त्री चौरसियाले त्यसलाई अघि बढाउने गरी बहसको सुरुवात गर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भ्रष्ट र ठगहरूलाई बल दिने गलत अभ्यासको अन्त्य हुनेगरी विद्यालय तहको पाठ्यक्रममा नै नैतिक शिक्षाको पठनपाठन हुने व्यवस्था फेरि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘‘२००५ देखि सदाचार नीति लागू गर्नेकुरा आएको पनि छ । हाम्रो राष्ट्र निर्माणका लागि, समाज निर्माणका लागि सबभन्दा आवश्यक तत्त्व हो । र विद्यालयमा पनि नैतिक शिक्षा पहिले पढाई हुन्थ्यो । पछि नयाँ शिक्षाले त्यसलाई विस्थापित ग¥यो । र मान्छेको मोरल भ्यालु यति खस्केको छ कि जसले भ्रष्टाचार गर्छ, जसले अरूलाई ठग्छ । त्यो नै समाजको सबैभन्दा अगुवा, चलाख मान्छेको रूपमा प्रदर्शित हुन्छ ।,’’ मन्त्री चौरसियाले भन्नुभयो, ‘‘जसले केही बदमासी गरेको छैन, कुनै अनैतिक काम गरेको छैन । त्यस्तो मान्छेलाई घरमा पनि बेकुफ भन्ने निरीह हुन्छ । म यहाँहरूको भावना, यहाँहरूले देखाउनुभएको संवेदनशीलता बुझेको छु । यहाँहरूले छलफल गरेर के के कानुन संशोधन गर्दा नैतिकता मेन्टेन गर्न सकिन्छ ? र, समाजमा नैतिक मूल्यलाई स्थापित गर्न जे–जे कानुन बनाउनुपर्छ । म त्यो गर्न तयार छु ।’’

यता सांसदहरूले पनि मुलुकमा सुशासन ल्याउनका लागि कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सत्तारुढ नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सुशासन ल्याउने कुरामा सम्पूर्ण समय खर्च गर्न मन्त्रीलाई सुझाव समेत दिनुभयो । उहाँले मुलुकमा धेरै निराशा बढ्नुको पछाडि सुशासन नहुनु रहेको औँल्याउँदै त्यसलाई चिरेर सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद डा. अञ्जान शाक्यले जनताप्रति उत्तरदायी हुने सदाचारका बारे विद्यालय र विश्वविद्यालय तहमा पनि अध्ययन, अध्यापनको काम हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा सदाचार स्थापित गराउन सांसदहरूले पनि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सांसद शाक्यले भन्नुभयो, ‘‘धेरै अगाडि देखिनै यो सदाचारको पाठ विद्यालय शिक्षामा राख्नुपर्छ भनेर मैले संसदमा पनि बोलिरहेको थिएँ । म आफैँले पनि विद्यालयहरू, कजेलहरुमा गएर असल मानिस कसरी बन्ने, जनताप्रति कसरी उत्तरदायी हुने र हाम्रो राष्ट्रियताको बारेमा कक्षाहरू सञ्चालन गर्न जरुरी देखेर लागि रहेको हुँ ।’’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले जनताप्रति उत्तरदायी नहुनेहरूलाई कडा कारबाही हुनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सदाचार नीति बनाउनु अघि राष्ट्रव्यापी रूपमा बहस सुरु गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

सांसद सुवेदीले विज्ञ र सरोकारवालाहरूसँग व्यापक छलफल गरेर मात्रै सदाचार नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।