काठमाडौँ, साउन २८ गते । एएफसी च्यालेन्ज लिगको प्लेअफमा मङ्गलबार नेपालको लिग च्याम्पियन टोली चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसीबिच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गलामा साँझ ६:०० बजे सुरु हुने खेलका लागि दुवै टोलीले राम्रो तयारी गरेको र जितका लागि उत्रने दाबी गरेका छन् ।
खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा चर्च ब्वाइज प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानको पारो एफसीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताउनुभयो ।
‘‘हामीले गत तीन सातादेखि तयारी गरिरहेका छौँ । टोलीका अधिकांश राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । घाँसे मैदानको अभावले अभ्यासमा केही बाधा पुगेपनि ब्वाइजको टोली कमजोर छैन । हामी उच्च मनोबलका साथ जितका लागि खेल्नेछौँ,’’ महर्जनले भन्नुभयो ।
उहाँले पारोमा जापानी होन्डासहित पाँच जना खेलाडी र अधिकांश विदेशी खेलाडी अनुबन्ध भएकोले बलियो चुनौती हुने पनि बताउनुभयो । ‘‘विदेशी स्टार खेलाडीले भरिएको टोलीसँग खेल्न गाह्रो होला तरपनि हामी शतप्रतिशत दिनेछौँ,’’ प्रशिक्षक महर्जनले भन्नुभयो ।
यस्तै ब्वाइजका कप्तान अनन्त तामाङले पारोविरुद्ध आफ्नो रणनीति अनुसारको प्रदर्शन गर्ने बताउनुभयो । ‘‘छोटो तयारी भएपनि हाम्रो टिम कम्बिनेशन मिलेको छ । टोलीमा राष्ट्रिय स्तरका खेलाडी छन् । हामीले विदेशीलाई भन्दा स्वदेशी खेलाडीलाई विश्वास गरेका छौँ । सुरुवातमा केही तालमेल नमिलेपछि अहिले टिम ब्यालेन्स भएको छ । हामी शारीरिक र मानसिक रूपले तयार छौँ । पारोलाई बलियो चुनौती दिएर जित निकाल्ने विश्वास लिएका छौँ,’’ तामाङले भन्नुभयो ।
यसैगरी पारो एफसी प्रशिक्षक पुष्पलाल शर्माले तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । ‘‘नेपाल आएसँगै चुनौतीको सामना गरिरहेका छौँ । दशरथ रङ्गशालाको स्तर उपयुक्त छैन । नेपालमा लिग नभएकोले राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको र चर्च ब्वाइज अहिले नेपालको राष्ट्रिय टोली बराबर छ । हामीले पनि टोलीमा होन्डासहित जापानका पाँच र विदेशी मात्र ११ जना खेलाडी राखेका छौँ । क्लबको लगानी अनुसार टिम बलियो बनेको छ । त्यसैले पारोलाई जित्ने पर्ने दबाब छ,’’ शर्माले भन्नुभयो ।
पारो गत वर्ष पनि एफसी कप छनोट खेल्न नेपाल आएको थियो । त्यतिवेला पारो नेपालको मच्छिन्द्र फुटबल क्लबसँग ३–२ गोलले पराजित भएको थियो । तर पारो यसपटक निकै बलियो बनेर नेपाल आएको छ । यस खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ ।