• १६ भदौ २०८१, आइतबार

सम्बन्ध बिच्छेदमा करिब करोड खर्च

blog

अमृत प्रसाद पौडेल

म्याग्दी, साउन २८ गते । गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दी जिल्ला अदालतमा पेश भएका सम्बन्ध बिच्छेदका मुद्दाका लागि झण्डै एक करोड रुपियाँ कानुनी सहायताका लागि पीडितहरुले भुक्तानी गरेका छन् ।

गत वर्ष म्याग्दी जिल्ला अदालतमा परेका तीन सय १७ वटा सम्बन्ध बिच्छेदका मुद्दामा कानुनी सहायताका लागि करिब एक करोड रुपियाँ खर्च भएको हो । गत आर्थिक वर्षमा अदालतमा परेका कुल तीनसय १७ सम्बन्ध बिच्छेदका मुद्दामध्ये दुई सय ८७ फर्छ्यौट भएको र ३० वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ । 

अधिवक्ता राम शर्माका अनुसार सम्बन्ध बिच्छेद मुद्दाका लागि कानुनी सहायताका लागि मुद्दा लेख्नेदेखि अदालति प्रक्रियासम्मका लागि वकिलहरुले ३० हजार रुपियाँ हाराहारी लिने भएकाले झण्डै एक करोड हाराहारी कानुनी सहायताका लागि खर्च भएको छ । 

शर्माले भन्नुभयो, ‘सम्बन्ध बिच्छेदका लागि आउनेका लागि वकिलले सामान्यतया ३० हजार रुपियाँ शुल्क लिने गरेका छन्, त्यो हिसाबले हेर्ने हो भने गत वर्ष म्याग्दी अदालतमा सम्बन्ध विच्छेद गर्न आएका जोडीले करिब करोड रकम बुझाएको देखिन्त्छ ।’

पछिल्लो समय छुट्टीनकै लागिभन्दा पनि वैदेशिक रोजगारीमा जानका लागि सम्बन्ध बिच्छेदको दर बढेको हुन सक्ने जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार उपसचिव भोलाराज रेग्मीले बताउनुभयो । बैदेशिक रोजगारीमा पुगेकासँग जोडी बनाएर विदेश जानका लागि यहाँको विवाहीत जोडी अदालतमा पुगेर औपचारीक रुपमा छुट्टिने र अर्कोसँग बिबाह गरेर विदेश जाने कारणले गर्दा पनि विच्छेदको संख्या बढेको देखिएको हुन सक्ने उहाँको भनाइ छ । 

म्याग्दी जिल्ला अदालतमा परेका पछिल्ला दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा २० बर्षदेखि ७५ बर्षसम्मकाले पनि सम्बन्ध बिच्छेद गरेका छन् । जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९–८० मा कुल छसय १८ मुद्दा परेकोमध्ये तीनसय ५२ मुद्दा सम्बन्ध विच्छेदका थिए । 

सम्बन्ध बिच्छेदका तीनसय २९ फर्छयौट भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ मा एकसय ३२ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको र चारसय ६१ नयाँ दर्तासहित कुल पाँचसय ९३ मुुद्दामा सम्बन्ध विच्छेदका तीनसय १७ थान रहेको देखिन्छ । अदालतबाट गत आर्थिक वर्षमा कुल चारसय ८३ मुद्दा किनारा लागेका छन् भने ३० वटा सम्बन्ध बिच्छेदसहित एकसय १० मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।