• १० मंसिर २०८१, सोमबार

क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार : राजदूत पौड्याल

blog

अटोवा, साउन २८ गते । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ।

आइतबार अटोवा विश्व विद्यालयमा आयोजित दुईदिने प्राज्ञिक सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै राजदूत पौड्यालले  नेपाल तथा क्यानाडाबिच मैत्रीपूर्ण, विश्वासमा आधारित र कुनै पनि दुई मुलुकबिच हुन सक्ने सर्वोत्तम द्विपक्षीय सम्बन्ध रहेको बताउनुभयो ।

‘‘हाम्रा दुवै मुलुकहरुले लोक तन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, कानुनको शासन, लैंगिक समानता तथा स्वतन्त्र प्रेस जस्ता साझा मूल्यलाई सम्मान गर्दछन् । आज मानवता समूउपस्थित जलवायु परिवर्तन जस्ता समस्यासँग जुध्न हाम्रा दुबै मुलुकका समान धारणा रहेका छन् ।  दुवै मुलुकबिच संस्कृतिक तथा वैज्ञानिक आदान प्रदान भइरहेको छ र त्यस्तो सहकार्य जना स्तरमा पनि बढ्दैछ,’’ उहाँले भन्नुभयो।

राजदूत पौड्यालले नेपालको संविधानमा उल्लेखित गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा गइसकेको र नेपाल सरकारले नेपाल नागरिकता ऐन र नियमावलीहरुलाई संशोधन गरेको बताउनुभयो ।  संविधानमा उल्लेख भए अनुसारका गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, उहाँले भन्नुभयो । 

नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरुसँग रहेको सीप, स्रोत, अनुभव र प्राविधिक क्षमता मुलुकको हितमा उपयोग गर्ने नीति अपनाएको स्मरण गर्दै राजदूत पौड्यालले  नेपाली डायसपोराको यस किसिमको सहयोगलाई नेपालले सधैँ स्वागत गर्ने जनाउनुभयो ।

सम्मेलन आयोजकहरुको तर्फबाट बोल्नुहुँदै प्रा. वासु शर्माले क्यानाडामा रहेका नेपाली प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुलाई एकै थलोमा ल्याई एक अर्काले गरेरका अध्ययन तथा अनुसन्धानबारे जानकारी लिनुका साथै छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको बताउनुभयो । उहाँले  कार्यपत्र प्रस्तोता, प्रायोजक, सहभागी लगायत सबैलाई धन्यवाद दिनुभयो ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, जीवविज्ञान तथा बायोस्टाटिस्टिक्स, भूगर्भविज्ञान तथा रिमोट सेन्सिङ, जलवायु परिवर्तन, स्वास्थ्य विज्ञान, अर्थशास्त्र, मिडिया एवम् पत्रकारितासँग सम्बन्धित झण्डै तीन दर्जन प्रस्तुति गरिएको थियो ।

नेपाली क्यानेडियन्स इन अटोवा तथा एसोसिएसन अफ नेपाली स्टुडेन्टसद्वारा संयुक्तरुपमा आयोजित सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा तथा नेपालका समेत १०० भन्दा बढीको सहभागिता थियो ।